Sunday, March 11, 2012

यस्तै भयो भने.......


आज पनि मलाई त्यो दिन राम्ररी याद छ, जुन बेला म नेपालको कुनै एक भागमा थिएँ, बेलुकीपख चारैतर्फ सुन्यसुन्य लाग्थ्यो । तर पनि त्यो सुन्यता अनि रमणिय वातावरणलाई पर्दाफास गर्दै छितिजपारी जस्तो लाग्ने झ्याउँकिरिका बिभिन्न किसिमका संगीतमय आवाजहरु कताकता गुन्जिरहेको थियो ।
चारैतिर अन्धकार, माथि आकासमा जुनाकिरि जस्तै धिपधिप – धिपधिप गरि ताराहरु चम्किरहेका थिए । लाग्थ्यो, सुनसान कोही नभएको जस्तो । बिस्तारैबिस्तारै हेर्दाहेर्दै सबैतिर झिलिमिली बत्तीका लहरहरु सबैका घरमा, अँध्यारोपनलाई हटाउँदै प्रकासका किरणहरु चारैतिर देखिन थाले । बत्तीका लहरसँगै क्रमिक रुपमा टाढाटाढाबाट “भैली राम” का स्वरहरु पनि गुञ्जिन थाले ।
मलाई असाध्यै मन पर्थ्यो देउसी खेल्न। एकपटक म पनि गएको थिएँ देउसी खेल्नलाई, त्यस बेलादेखि आजसम्म मैले कहिल्यै देउसी खेलेको छैन । समय आफ्नै गतिमा अघि बढिरहेको थियो । रात पनि छिप्पिँदै जाँदै थियो । त्यसै क्रममा हाम्रो घरमा पनि एक हुल भैली खेल्न आए । शायद पाँचजना हुनुपर्छ। सबै लाइनमा बसे । म हेरिरहेको थिएँ । तिनीहरु एक आपसमा बोल्न थाले । “तिमी सुरु गर” अर्कीले भनिन् “तिमीले गर न”, पूरा परिचित मुहार थिए । तर एक अपरिचित मुहारमा मेरो नजर पुग्छ । झलक्क हेर्दा सरल स्वभाबको देखिन्थिन् । यसैबिच उनले नै भैली भन्न सुरु गरिन्…. ।

“झिलिमिली-झिलिमिली-झिलिमिली झिल्ला ।
गाउँ हाम्रो जोगीचौन, झापा पर्‍यो जिल्ला ।।

बर्ष दिनमा एकपटक फेरी आयो तिहार
साथी सँगी मिलीजुली बाँडौ हामी पियार ।। ”

..........................................................
..........................................................

यस्तै यस्तै निकै नै सुरिलो स्वरमा भाका हालीहाली उनी भन्दै जान्थिन् । उनको पछिपछि अरु साथीहरुले भन्दै जान्थे। म छक्कै परें, अब नेपाली संस्कृतिमा पनि पाश्चात्य शैली भित्रिएछ । एक किशिमले निकै नै रोचक लाग्दो थियो । क्रमैसँग अरु पनि आईरहेका थिए । ३-४ हुल भैली आएको म ओछ्यानमा सुतेर सुनिरहेको थिएँ । सुन्दासुन्दै कतिखेर म निद्रादेवीको काखमा पुगेंछु ।
भाइटिका, घरमा मिठा मिठा परिकारहरु दिदी बहिनिले बनाएर राखेका हुन्थे । सबै मिलेर टिका लगाउँथ्यौं । कति खुशी थियो हाम्रो परिवार, हामी सवै एकैसाथ हुँदा । समयको खेल भनौं अथवा भाग्यको रेखा, आज म घरपरिवार छाडेर क्षितिजपारी डुब्न लागेको घामसरी बाँचिरहेको छु । यो बर्ष पनि मेरो निधार रित्तो नै रह्यो । हरेक दिन मनका ज्वार भाटामा उठ्ने शब्दरुपी छालहरु भित्रभित्रै यसरी प्रस्फुटन हुन्छन् -
हिक्का-हिक्का सास फेरि, रुकाएर गयो तिहार ।
खाटो बसि सकेको घाउ, उक्काएर गयो  तिहार  ॥


आटो पिठो छैन् घरमा, सबै मिठो खाने भन्छन् ।
गरिबीको शिर सधै, झुकाएर गयो  तिहार  ॥

दिन रात खटि रा'छु, चुकाउन ऋणलाई
भाका नाघ्यो साहुलाई, भुकाएर गयो  तिहार  ॥

धेरै पछि बल्ल-बल्ल, अलिकती खुशि थियौ ।
मुहारको त्यो खुशी नि, सुकाएर गयो  तिहार  ॥


पोहोर जस्तै यसपाली नि, रित्तो-रित्तो एक्लो बने
आज फेरि यो मनलाई, दुखाएर गयो तिहार ॥ 

(यो शब्दलाई केहि परिबर्तन गरिएको छ )

समयको बद्लिँदो गतिसँगै अचानक मेरो मोबाईलमा एक अपरिचित नम्बरबाट फोन आयो । म फोन रिसिभ गर्छु । मैले फोन रिसिभ गर्नासाथ मेरो हर्षको सीमा नै रहेन । म अत्यन्त खुशी भएँ । बिगत ३ बर्षदेखि छुट्टिएको मेरो साथी आज यो बिरानो भुमिमा भेट्न पुगे । उसले मलाई भन्यो “सोफिटेल सपिङ कम्प्लेक्समा मलाई भेट्न आउनु ।” बल्ल बल्ल शुक्रबारको दिन छुट्टी मिलाएर म त्यहाँ साथी भेट्न गएँ ।
दिउँसो कारीब ४ बजे म त्यहाँ पुगें । राज बसिरहेको थियो । मलाई देख्नासाथ खुशीले अंकमाल गर्‍यो । हामी एकदमै खुशी थियौं किनभने ३ बर्षपछि पुन: हाम्रो भेट भएको थियो । कुराकानीको क्रममा राजले सोध्यो – “बिबाह गरिस् त ?”
केही मलिन स्वरमा म बोल्छु – “कुरा नगर यार !”
राज बोल्छ – “किन के भयो ?”
” के भनौं यार मेरो बारेमा !”
“भन् न भन् भयो के ? मलाई किन कुरा लुकाउँछस् ?”
“मेरो घरमा विवाहको कुरा चल्यो । सबैले विवाह गर्न आग्रह गरे, साथै केटीको रोजाइ पनि मेरै हातमा सुम्पिए । एक दिन अर्कै गाउँबाट केटीको कुरा लिएर एक जना काका पर्ने मेरो घरमा आए । भोलिपल्ट हामी ३ जना केटी हेर्न गयौं । जति केटीको बारेमा बयान गरेका थिए । त्योभन्दा पनि धेरै नै राम्रो अनि सहनशीलता मैले पाएँ । पढाई पनि राम्रो, B.B.S 2nd year । विवाहको कुरा पनि पक्का भयो ।”
“अनि के भयो त ? मोज गरिस् होला नि । ” राज बोल्यो ।
म केही बिछुब्ध भाबमा उसलाई हेर्छु ।
फेरी राज बोल्छ – “के भयो ? रिसाएको म त जिस्किएको पो त ।”
“त्यसपछि के हुनु यार उनीसँग विवाह भयो । विवाह भएको ८ महिनामा छोरी जन्मिइ । घर परिवार आफन्तले शंका नगरुन् भन्ने म चाहन्थे । मैले शंका गरिनँ, उनलाई धेरै नै माया गर्थें । किनकि अरुले शंका गर्ने ठाउँ नपाउन् भनेर । करीब एक बर्षपछि उनले छाडेर गईन् । एक पटक म लिनलाई गएको थिएँ । तर उनले मसँग कहिल्यै नआउने भनिन् । म तिम्रो लागि मरिसकें अब कहिल्यै नआउनु भनेर उल्टै गाली गरिन् ।”
राज बोल्यो – ” अनि अहिले कहाँ छे ? केही थाहा छ ?”
“केही समयअघि सुनेको मैले पनि उसैको पहिलेको केटोसँग बिदेस पलायन भएकी छे अरे छोरी लिएरै ।”
राज बोल्यो ” ओहो ! सरी यार मैले तेरो पुरानो घाउलाई कोट्याएँ । ”
“के को सरी नि साथी साथीमा । यो त मेरो जीवनको वास्तविकता हो । ”
“अब के गर्छस् त एक्लो जीवन बिताउने ? बरु अर्को विवाह गर् ? दोस्रो विवाह गरेर पनि धेरैको घर परिवार मिलेको छ । ” राज बोल्यो ।
“छाड् दे यस्ता कुराहरु, अब यो नारी भन्ने शब्द नै मेरो शब्दकोषमा छैन । म जति जिउँछु अब मेरो घर परिवारको लागि मात्र, जसको कारणबाट आज हाम्रो परिवारको सिर झुकेको छ । ”
केही भाबुक हुँदै राज बोल्छ – “हुन त हो तर सबै केटीहरु त्यस्ता हुँदैनन् नि, बिचार गर्, एक्लो जीवन काट्न गार्र्हो हुन्छ । कति नै बस्नु छ र यो बिरानो भुमिमा, आफ्नो देश जानैपर्छ । सोच्न जति सजिलो छ नि, एक्लै जिन्दगी काट्न त्यति नै गार्र्हो हुन्छ ।”
म बोल्छु – “अनि तेरो के छ नि ? ड्राइभरको त निकै मस्ती हुन्छ भनेको सुन्छु । जहाँ पनि जान मिल्छ हरे नि ?”
राज बोल्छ – “हेर् भन्नलाई त मान्छेले जे पनि भन्छन् । तर वास्तविकता अर्कै हुन्छ । काम धेरै गार्र्हो हुन्छ कहिलेकाँही त रातभरी नै हिँडिरहनु पर्छ । अहिले पनि म बाहिरबाट सिधै यहाँ आएको । कहिलेकाँही साधारण दिदीबहिनी जस्तै बोलीचाली हुन्छ, त्यसलाई सोच्नेले के सोच्दछन्, भन्नेले जे पनि भन्छन्, त्यसमा मैले भन्नु केही छैन ।”
केही समय दु:ख-सुखका कुरा गरी छिट्टै भेट्ने वाचासहित हामी छुट्टियौं । रात परिसकेको थियो । नेपाली चोक रेस्टुरेन्टमा खाना खाएर म कोठामा गएँ, रातभरी निद्रा परेन, दिउँसो गरेका सारा कुराहरु मानसपटलमा घुमिरहे । मोबाईलको ALARM बज्न थाल्यो । बिहान भईसकेछ । काम त गर्नु थियो । तर काम गर्ने जाँगर नै आएन ……. ।
पुर्बेली टाईम्सबाट साभार 
अभागी कान्छा गाउँले
तोपगाछी, झापा

No comments:

Post a Comment