Tuesday, March 6, 2012

गजल र यसका केहि सिदान्त -{ भाग एक }


‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।
गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न।
यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु।
गजलका तत्वहरु
(क) शेर
(ख) काफिया
(ग) रदिफ
(घ) मतला
(ङ) मकता
(च) तखल्लुस
(छ) वहर

१. शेर
दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ।
सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ तर एकदम कम शेर र एकदम अधिक शेरलाईपनि राम्रो मनिन्दैन तसर्थ ५ वटा शेर भएको गजललाई आदर्श गजल मान्ने गरिन्छ ।
२. काफिया
समस्वरात्मक रुपमा रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्दनै काफिया हो । काफिया शव्दको अर्थ अरवी भाषामा पनि ‘वारम्वार आऊने’ नै हुन्छ र हामीले यो बुझ्नु आवश्यक छ कि गजल् विधा अरब,फारस,हिन्दुस्तान हुदै नेपालमा भित्रिएको बिधा हो।तसर्थ अरबी भाषामा ‘वारम्वार आऊने’ वा काफिया गजलको त्यो तत्व हो जुन तत्व बिना गजल अधुरो हुन्छ,गजल भन्ने बिधाको अलग्गै पहिचान हुदैन, अझ यसो भनौ काफियानै गजलको मुटु हो । गजल बिधा भनेर छुट्ट्याउने माध्यम हो ।
काफियालाई सामान्यतया ४ प्रकारले छुट्ट्याऊन सकिन्छ।
(क) पूर्ण काफिया
(ख) अंशिक वा शाव्दिक काफिया
(ग) एकाक्षरी काफिया
(घ) मिलित काफिया
पूर्ण काफिया भन्नाले सिङ्गो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूर्ण काफिया भनिन्छ। जस्तै: खाम, नाम, याम, लाम, दाम गाउँ,जाउँ, आउँ, पाउँ,धाउँ,जाउँ, इत्यादी,
पूर्ण काफिया प्रयोग गरिएर लेखिएको गजलको एउटा उदाहरण हेरौं

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो

साभार: एउटा बन्द खाम (ललिजन रावल)
आंशिक/शब्दांश काफिया:
कुनै शब्द भित्रको अंशमात्र काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई आंशिक वा शब्दांश काफिया भनिन्छ । जस्तै: प्रहार,आधार,बिचार, सरोकार, अवतार, इत्यादी ।
उपरोक्त शब्दहरुमा क्रमश: हार, धार, चार, कार, तार, ले काफियाको रुपमा काम गरेको छ भने प्रहारको “प्र” आधारको “आ” बिचारको “बि” सरोकारको “सरो” र अवतारको “अव” ले काफियाको काम गर्दैनन् । यहाँ पूर्ण शब्दको केहि
अंशले मात्र काफियाको काम गरेको देख्न सकिन्छ। तसर्थ यस्ता काफियालाई आंशिक वा शब्दांश काफिया भनिएको हो।
आंशिक वा शव्दांश काफियाको एउटा उदाहरण:

वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु

आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु

पराईको घरमा छु आफन्त त टाढा भए
ठुलै सङ्कटमा छु म जङ्घारमा बसेको छु

शहरमा बसेको छु भन्ने सोच्दै थिए तर
थाहा भयो मान्छे किन्ने बजारमा बसेको छु

साहुनीको भट्टीजस्तो सानो ठाउमा हैन आज
महलभन्दा ठुलो यो कारागारमा बसेको छु

साभार: पदम गौतम (एकलाशको फूल)
उपरोक्त गजलमा संसारको ‘सं’, जङ्घारको ‘जङ्’,वजारको’व’कारागारको ‘कारा’ले काफियाको काम गर्दैन तसर्थ यस्ता काफिया आंशिक वा शब्दांश काफिया
अन्तर्गत पर्दछन्।
(ग)एकाक्षरी काफिया भन्नाले काफियाको रुपमा एउटा अक्षर मात्र आउने वा आंशिक शव्दको अन्तमा काफियाको रुपमा आउने एउटा अक्षरलाई एकाक्षरी काफिया भनिन्छ। सामान्यतया गजलमा एकाक्षरी काफिया प्रयोग गर्नु राम्रो मानिन्दैन तर पनि कतिपय गजलकारले प्रयोगको रुपमा वा विचलनको रुपमा एकाक्षरी काफिया प्रयोग गरेको पाइन्छ।
एकाक्षरी काफिया प्रयोग गरिएको गजलको पनि एउटा उदाहरण हेरी हालौं ।

व्यथै व्यथा छ मनभरी खुसी खोजूँ कतातिर
साउन भदौ छ गहभरी नदी खोजूँ कतातिर

आरु फुल्यो वगैंचामा,पीडा फुल्यो मुटुभरि
चरो परेछ जालमा चरी खोजूँ कतातिर

मुटु चिरी बनाउँ कि रातो रगतको मसी
मेरो कथा लेखूँ कहाँ,मसी खोजूँ कतातिर

आगोपनि छ छातीमा,हुरी पनि छ छातीमा
चट्टानझैं अडिग जिन्दगी खोजूँ कतातिर

यो भीडमा हरायो कि,त्यो पीरमा हरायो कि
त्यो मेघ जस्तै गर्जने रवि खोजूँ कतातिर

रवि प्राञ्जल (उही बाढी उही भेल)
माथिको उदहरणमा ‘सी’,'दी’,'री’,'गी’,'पी’ आदि एकाक्षरी काफिया हुन् ।
‘घ’ मिलित काफिया: पूर्ण काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको छन् भने त्यस्तो काफियालाई मिलित काफिया भन्ने गरिन्छ।
जस्तै: वनी,दन्दनी,फन्फनी,हुन्छ नी,आदि

मिलित काफियाको पनि एउटा उदाहरण तल हेरौं
तिमिलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि

वचन वाणले नहिर्काउ यति सारो कठोर वनी
जव अलिकति शीतल अनुभूति गर्न थाल्छु

तिमी दावानल दन्किदिन्छौ म भित्र दन्दनी
थोरै मात्र भए पनि खुला राख दिल साथी

दयामाया भन्ने कुरा मान्छे भित्रै त हुन्छ नी
आऊ यात्रा गर्न सिक मानवीय धरातलमा

के पाउँछौ कसैलाई फसाउने खाडल खनी
उहि नाग,उनि सर्प,फरक मात्र सोचाइमा

कसैका हो बुध तिमी,मेरो लागि भयौ शनि
माथि माथि खुट्टा देख्छु तल तिर टेक्नै छाड्यौ
इमानको सौदा गरी बन्दै छौ कि महाधनी
डा।घनश्याम परिश्रमी(जून चुहेको रात)
माथिको गजलमा काफिया बनेर आएका ‘पनि’,'वबी’,'दन्दनी’,'हुन्छ नी’, ‘शनि’,'खनी’ र ‘महाधनी’ मिलित काफियाको राम्रो उदाहरण मान्न सकिन्छ।
यसरी गजल विधाको तत्वहरु अन्तर्गत पर्ने काफियाको बिभिन्न स्वरुपहरुवारे चर्चा पछी अव रदिफ को पनि केही चर्चा तल गरिएको छ ।
रदिफ: गजल निर्माण प्रकियामा गजलको श्रुतिमधुरता,सौन्दर्य र एउटा छुट्टैपना वा पहिचानको निम्ति काफियापछि निरन्तर दोहोरिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। गजललाई साँगीतिक बनाउनु वा अलग्गै विधा भनेर छुट्ट्याउने कार्यको लागि रदिफको महत्व पनि कम आँक्न मिल्दैन। अझ कुनै कुनै गजल विद्वानहरुले काफिया भन्दा पनि रदिफलाई बढी महत्व दिएर लेखेको पाइन्छ,त्यसैगरी हामीले पढ्ने,लेख्ने,सुन्ने वा गाइने गजलहरुमध्ये अधिकांश गजलहरुमा रदिफको प्रयोगले पनि रदिफको महत्व बुझ्न सकिन्छ। यति हुँदा हुदै पनि रदिफ बिनाका गजल पनि पर्याप्त मात्रामा भेटिन्छन्।
गजलविधामा रदिफयुक्त गजललाई मुरद्दफ गजल र बिना रदिफका गजललाई गैरमुरद्दफ गजल भन्ने गरिन्छ।
त्यसैगरी शव्दसंरचनाको आधारमा रदिफलाई तीन तरिकाले विभाजन गर्न सकिन्छ।
१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ
(क)पदमूलक रदिफ: रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।
जस्तै:

सिक्री वने जस्तै गाडीहरुको लाम छ
सायद जुलुस आउँदैछ सडकै जाम छ

हतारोमा छु म,मैले पुग्नु छ टाढा
कसलाई सुनाऊँ कि मेरो जरुरी काम छ

विभाजनको रेखा अझै गाढानै देख्छु
रहीम छ कसैको अनि कसैको राम छ

मानूँ त कसरि मानूँ,नमानूँ कसरि
यहाँ इज्जत भन्दा धेरै महँगो दाम छ

इमान साँचेर नै के भो,हो भने यस्तै
वेइमानहरुको सूचीमा मेरो नै नाम छ

डा.घनश्याम परिश्रमी(जून चुहेको रात)
उपरोक्त गजलमा रदिफको रुपमा केवल “छ” शव्दमात्र अर्थात एउटा शव्द मात्र आएको छ तसर्थ यस्तो गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदमूलक रदिफ मा राख्न सकिन्छ।
(ख)पदावलीमूलक रदिफ:गजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक रदिफ भन्ने गरिन्छ।
उदाहरणको लागि वियोगी बुढाथोकीको एउटा गजल हेरौं।

भेटिएको राम्रो मान्छे अन्तै सरे जस्तो छ
फुल्न नपाई मनको फूल झरे जस्तो छ

वालुवाझैं सुख्खा थियो मनको मझेरी
कालो मैलो वादल वर्षा टरे जस्तो छ

दन्किएको वैंसको आगो सल्काऊ कसरी
उमेरको यो इच्छा-शक्ति मरे जस्तो छ

नदेखिईनै मनको घाउ दुख्छ जसरी
भन्न हुन्न प्रेमको जालमा परे जस्तो छ

साँच्चै तिम्रा आँखा सागर मोती तिम्रा दन्त
बाडुलीमा परें मेरै कुरा गरे जस्तो छ

वियोगी बुढाथोकी(गजल तिम्रो नाम होइन)
यो गजलमा प्रस्तुत रदिफ “जस्तो छ” दुई शव्द मिलेर बनेको छ,यस अर्थमा यस गजललाई मुरद्दफ गजलको रदिफ अन्तर्गत पदावलीमूलक रदिफ भित्र रहेको बुझ्न सकिन्छ।
(ग)वाक्यात्मक रदिफ:गजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनेर चिनिन्छ।
वाक्यात्मक रदिफको उदाहरणको रुपमा मिजास तेम्बेको एउटा गजल:

निम्तो थियो आउनु भएन,हजुरको ढोकासम्म आएँ
यौटै पत्र पाउनु भएन, हजुरको ढोकासम्म आएँ

मुखमा राम राम,बगलीमा छुरा भन्छन्
कैले मनमा छाउनु भएन,हजुरको ढोका सम्म आएँ

यता आयो यतै ठिक्क,उता गयो उतै ठिक्क
चोखो माया लाउनु भएन,हजुरको ढोका सम्म आएँ

आफैं बोक्सी आफैं धामी,कस्तो चाला हो यो
कतै पनि धाउनु भएन,हजुरको ढोका सम्म आएँ

काग कराउदै गर्छ,पिना सुक्दै गर्छ
जीवनको गीत गाउनु भएन,हजुरको ढोका सम्म आएँ

मतला:
गजलको प्रत्येक दुई पङ्क्तिलाई शेर भनिन्छ,शेरको पहिलो पङ्क्तिलाई मिसरा-ए-उला र दोश्रो पङ्क्ति लाई मिसरा ए-सानी भन्ने गरिन्छ तर गजलको प्रारम्भको शेरलाई भने मतला भनिन्छ अर्थात गजलको सुरुवाती शेरलाई मतला भनेर चिनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक हुन्छ,अन्यथा त्यो मतला नभएर शेर मात्रा बन्न जान्छ तसर्थ कम्तिमा दुवै मिसरामा काफिया हुनु भने जरुरीनै हुन्छ । यदि गजल मुरद्दफ छ भने काफिया संगै रदिफ पनि आउने गर्दछ र गजल गैरमुरद्दफ छ भने काफिया मात्रै भए पनि मतला भने बन्न सक्दछ ।
कुनै कुनै गजलकारले एउटा मात्र नभई दुई दुई वटा मतला सिर्जना गर्दछन्,यसरी दुई दुई वटा मतला आएमा पहिलो मतलालाई मतला-ए-उला र दोश्रो मतलालाई मतला-ए-सानी वा हुस्ने-मतला भन्ने गरिन्छ।
मतलाका केहि उदाहरणहरु

“तिमीलाई जहाँ दुख्छ त्यही दुख्छ मलाई पनि
वचनवाणले नहिर्काउ यति सारो कठोर वनी”

“धनमाया पहेंला ती सबै सुन होइनन्
मनमाया उजेला ती सबै जून होइनन्”
मकता:
गजलको अन्तिम शेर वा टुङ्ग्याउनीलाई मकता भनिन्छ।
कुनै कुनै विद्वानहरुले तखल्लुसयुक्त(उपनाम)अन्तिम शेरलाई मात्र,मकता भनिने अवधारणा राखेका भए पनि संरचनाको आधारमा र गजलको अन्तिम शेर गजलगोले आफ्नो सम्पूर्ण वयान वा भनाई टुङ्ग्याएको अर्थमा सिर्जना गर्ने भएकोले तखल्लुसयुक्त अन्तिम शेर मात्र होइन,तखल्लुस बिनाको अन्तिम शेरलाई पनि मकतानै भनिन्छ।
Taken From :- www.nepaligazal.com

गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
नेपालमा गजलको सुरुआत विकास र प्रवाहलाई नियाल्दा वि.सं. १९४० को दशकतिर एउटा नयाँ र अनौखा काव्य विधाकोरुपमा युवा कवि मोतीराम भट्टले नेपालमा प्रवेश गराएका गजललाई सबै नेपाली कवि एवम् साहित्यकार स्रष्टाहरुले गजल लेखन कार्यको थालनी गरेको देखिन्छ । उक्त समयमा मोती मण्डलीमा रहेका नरदेव पाँडे सुधा शम्भुप्रसाद ढुङ्ग्याल लक्ष्मीदत्त पन्त इन्दु रत्नलाल रत्न गोपीनाथ लोहनी भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर मियाँ अमजद हुँसैन अन्जान गजब आदि नाम गरेका स्रष्टाहरुमार्फत् नेपाली साहित्यको इतिहासमा गजलविधालाई सहजरुपमा स्वीकार गरेको पाइन्छ ।
त्यसैको उपज नै आज पनि नेपाली साहित्याकाशमा गजल निकै लोकपृय बनेकॊ छ भनेर भन्दा त्यति अतियुक्ति नहोला । हुन त गजलसँग सम्बन्धित कुनै पनि लेख रचनाहरुकोसुरु गर्दा यिनै शब्दहरु पटक-पटक दोहोरिने गर्दछ । ता पनि विगतका गजल इतिहास सम्बन्धी लेख-रचनाहरु र वर्तमानको धरातलमा उभिएर हेर्दा युवा कवि मोतीराम भट्टले त्यतिखेर वनारसबाट नेपाल आएर धेरैथरि साहित्यिक आयामहरुको थालनी गरेको देखिन्छ । तरपनि विशेषतः रुपमा फस्टाउँदै गएका काव्यहरुमा भने कवितासँगै गजललाई नै प्रथम स्थानको शिखरमा पुर्याएको पाइन्छ । मोतीराम भट्ट र मोतीमण्डलीको समयावधि वि.सं. १९४० को दशकबाट १९९६ सम्म चलेको पाइन्छ । जुन समयलाई अग्रजहरुले कालखण्ड भन्ने गरिएकॊ पाइन्छ । यो समयको अन्तरालमा गजलका कृतिहरु प्रकाशनतर्फ नियाल्ने हो भने त्यस समयको समसामयिक र सामूहिक परिवेशमा प्रकाशित भएको एउटामात्र कृति सङ्गीत चन्द्रोदय वि.सं. १९६९ सम्मको नै प्रथम गजल सङ्कलित कृति हो ।
त्यस समयमा प्रकाशन भएको उक्त सङ्गीत चन्द्रोदय नामक कृतिमा मोतीराम भट्टदेखि शम्भुप्रसाद ढङ्ग्यालसम्मका गजलहरु समावेश गरिएको पाइन्छ । त्यसपछि भने वि.सं. १९९३ मा आएर अर्थात २४ बर्ष पछि मात्र भीमनिधि तिवारीले बयासी र बीस गजल मेरी नामक गजलसङ्ग्रह प्रकाशनमा ल्याएपछि उपेन्द्रबहादुर जिगरले एक सय एक गजल नामक गजलङ्ग्रह वि.सं. १९९६ तथा नेपाली शिक्षा परिषद् काठमाण्डौँद्वारा प्रकाशनमा ल्याइएको मोतीराम भट्टका गजलहरु २०३८ पाइन्छ जुन नेपाली शिक्षा परिषद् काठमाडौँले प्रकाशनमा ल्याएको देखिन्छ । त्यस पछिका दिनमा नेपालमा विभिन्न गजलकार कविहरुले प्रसस्तै गजलसङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । आजको गजलयुगमा आईपुग्दा नेपालमा यतिधेरै गजलका पुस्तकहरु बाहिर आएकाछन् कि ति सबै गजलसङ्ग्रहका पुस्तकहरुलाई यो पङ्तिकारले लिपबिद्ध गर्न असमर्थ छ । यसरी दिनानुदिन लोकपृयता बढदै गएको गजललाई जानिफकारहरुले पत्र-पत्रिका एवम् ऐतिहासिक आलेखहरुमा उल्लेख गरे अनुसार गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ ।
उधाहारणः
१, विषयवस्तुको आधारमा
२, रदीफको आधारमा
१, विषयवस्तुको आधारमा:
विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन् ।
क, मुसलसल गजल:
जुन गजलका सबै शेरहरु एउटै विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ ।
ख, गैरमुसलसल गजल:
जुन गजलका शेरहरु फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ ।
२, रदीफको आधारमा :
यस आधारमा पनि गजल दुई किसिमका हुन्छन् ।
क, मुरद्दफ गजल :
जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ ।
ख, गैरमुरद्दफ गजल :
जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ ।
गजलको संरचना :
गजलको संरचना बुझ्नका लागि गजलका केही तत्वहरु बुझ्नु आवश्यक हुन्छ जसको छोटो चिनारी यसप्रकार छ :
१, शेर :
केही नियमबद्ध शब्दहरु मिलेर बनेका शेरहरुको समष्टिगत रुप नै गजल हो । गजलका प्रत्येक दुई मिसरालाई शेर भनिन्छ । शेरको माथिल्लो मिसरालाई मिसरा-ए-उला र तल्लो मिसरालाई मिसरा-ए-सानी भनिन्छ । मिसरा-ए-उलाले भावको उठान गर्छ भने मिसरा-ए-सानीले त्यसको पुष्टि गर्छ ।
२, मतला :
गजलको माथिल्लो शेरलाई मत्ला भनिन्छ । यसले गजलको सुरुआत गर्छ । यसका दुईटै मिसरामा काफिया र रदीफ या रदीफविहीन गजल हो भने काफियाको मात्र प्रयोग भएको हुन्छ । यदि कुनै गजलमा दुईटा मतला देखिएको छ भने तल्लोलाई हुस्ने मतला वा मतला-ए-सानी भनिन्छ ।
३, मक्ता :
गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ जुन बीचका अरु शेरहरुजस्तै हुन्छ । मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन् । यस्तो उपनामलाई तखल्लुस भनिन्छ तर तखल्लुसको प्रयोग भने अनिवार्य मानिदैन ।
४, काफिया :
गजल संरचनाको अपरिहार्य तत्व नै काफिया हो । स्वर समता र तुकबन्दीयुक्त अनुप्रासिक शब्दलाई काफिया भनिन्छ । यो मत्लाको दुवै मिसरामा र बाँकी शेरहरुको तल्लो मिसरामा रदीफको अगाडि वा रदीफविहीन गजलमा अन्तिममा प्रयोग हुने गर्दछ । यस्ता काफियाहरु चार किसिमका हुन्छन् ।
क, पूर्ण काफिया :
पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि ।
ख, आंशिक वा शब्दांश काफिया :
शब्दका अन्तिमका केही अक्षरहरु काफियाको रुपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ । जस्तैः कहानी सिरानी निशानी जवानी जिन्दगानी तानी आदि ।
ग, एक अक्षरे काफिया :
शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रुपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षरे काफिया भनिन्छ जस्तैः कथा सदा मजा गला आदि त्यस्तै हो त्यो रातो कालो आदि ।
५, रदीफ :
मत्लाको दुवै मिसरा र बाँकी शेरहरुको तल्लो मिसराको अन्तिममा दोहरिएको पदावलीलाई रदीफ भनिन्छ । यो प्रायः एक शब्ददेखि तीन शब्दसम्म भएको राम्रो मानिन्छ । एक शब्द प्रयोग भएको रदीफलाई एकल रदीफ र एकभन्दा बढी शब्द प्रयोग भएको रदीफलाई बहुल रदीफ भनिन्छ । रदीफचाहिँ गजलको अपरिहार्यताभित्र पर्दैन तर भने गजलमा मिठास बढाउनका लागि यसको प्रयोग राम्रो मानिन्छ ।
६, बहर :
कुनै नियममा बाँधिएका शेरहरुको वजनलाई बह्र वा बहर भनिन्छ । बहरहरु मुख्यतया तीन किसिमका हुन्छन् ।
क, नेपाली बहर
ख, मात्रिक बहर
ग, शास्त्रीय बहर
क, नेपाली बहर :
केवल आक्षेरिक एकरुपतालाई आधार मानी आफनै शैलीमा लेखिने बहरलाई नेपाली बहर भनिन्छ । आवश्यक अनुसारको ६ ७ ८ ९ १० वा ११ १२ जति अक्षरका मिसरामा गजल लेख्न सकिन्छ । हेरौँ केही नमुनाहरुः
१) यो हो ६ अक्षरको मिसरा: यो मिसरा १० मात्रामा पनि आधारित छ
मिठो प्यार पाएँ
काखमा रमाएँ । – गोर्खे साइँलो
७, अक्षरका मिसरा: यो मिसरा १३ मात्रामा पनि आधारित छ
प्यासमा पानी पायौ
साथमा माया लायौ । – गोर्खे साइँलो
३, त्यसै गरी अर्को १६ अक्षरका मिसरा: यो मिसरा ३० मात्रामा पनि आधारित छ
समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी
तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी । – गोर्खे साइँलो
ख, मात्रिक बहर :
यी तल देखाइएको बहरहरु मात्रामा आधारित छन् । अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा गणना गर्दा मात्रा बराबर हुन्छ । हेरौँ यसका केही नियम र नमुनाहरु यसप्रकार छन्:
१) १७ मात्राका मिसरा:
सिरानी यो हातमा निदाऊ
आउ मेरो साथमा निदाऊ । – गोर्खे साइँलो
२) त्यसै गरी २४ मात्राको यो मिसराः
जागरुकताको दियो बालेर आए हुन्छ
सँगै लाने अधिकार पालेर आए हुन्छ । – गोर्खे साइँलो
ग, अब छोटकरीमा शास्त्रीय बहरको परिचयः
बहरको नाम लिनु पर्दा सर्वप्रथम त लउर्दू-फारसीमा बहर भनिने शब्द नै नेपालीमा प्रचलित पिङ्गल छन्द नै हो भन्ने बुझ्न जरुरी छ । अब गजलमा प्रयोग हुने बहरहरुको जानकारीका लागि तल देखाइएका केही तत्वहरु बुझ्न आवश्यक हुन्छ । तिनै तत्व वा शब्दहरुलाई यहाँ छोटो उदाहारण प्रस्तुत् गरिएको छ ।
१) बहरको उक्त तत्वलाई रुक्न भनिन्छः
रुक्न भनेको गण हो । उर्दू भाषाको लेखाइ अनुसार रुक्नचाहिँ एक अक्षरेदेखि सात अक्षरेसम्म प्रयोग भएर बन्ने गर्दछन् । रुक्नहरु भनेको पनि पिङ्गल छन्दमा गण भनेजस्तै लघु । र दीर्घ ऽ बाट बनेका हुन्छन्
२) अर्कान:
अर्कानलाई रुक्नको खम्बा भनिन्छ । तिनै अर्कानहरुलाई नै टुक्र्याएर आलग-अलग रुक्नको निर्माण गरिन्छ र त्यसलाई जिहाफात भन्दछन् । यसले गणजस्तै बहर निर्माणमा भूमिका खेल्दछ । यस्ता अर्कानहरु आठओटा हुन्छन् जसलाई दुई भागमा विभाजन गरिएको छ:
क, सबाई अर्कान
ख, खामसी अर्कान
सबाई अर्कान:
निम्न अनुसारका ह्रस्व र दीर्घ अक्षरहरुको संयोजनबाट बनेको सात मात्रिक शब्दलाई उर्दूका शब्दमा भन्नु पर्दा सबाई अर्कान भनिन्छ । यसको सङ्ख्या छओटा छ ।
१, फाइलातुन् ऽ।ऽऽ बराबर ७ मात्रा
२, मुस्तफ्इलुन् ऽऽ।ऽ बराबर ७ मात्रा
३, मफाईलुन् ।ऽऽऽ बराबर ७ मात्रा
४, मुतफाइलुन् ॥ऽ।ऽ बराबर ७ मात्रा
५, मफाइलतुन् ।ऽ॥ऽ बराबर ७ मात्रा
६, मफ्ऊलात ऽऽऽ। बराबर ७ मात्रा
खमासी अर्कान:
उर्दूका पाँचओटा अक्षरहरुको संयोजनबाट बनेका पाँच मात्रिक अर्कानलाई खमासी अर्कान भनिन्छ । यसको सङ्ख्या २ ओटा छ :
१, फऊलुन् ।ऽऽ। बराबर ५ मात्रा
२, फाइलुन् ऽ।ऽ। बराबर ५ मात्रा
३, मुसम्मन्:
गजलको एउटा मिसरामा एउटै वा फरक-फरक गरी बनेका जम्मा चारओटा अर्कानहरु छन् भने त्यसलाई मुसम्मन् भनिन्छ ।
४, मुसद्दस्:
त्यसैगरी एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा तीनओटा अर्कान छन् भने त्यसलाई मुसद्दस् भनिन्छ ।
५, मुरब्बा:
कुनै पनि एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा दुईओटा अर्कान छन् भने त्यसलाई मुरब्बा भनिन्छ भने फरक-फरक अर्कानबाट बनेको मुरब्बा बहरको नामकरण भएको देखिन्न ।
६, सालिम:
एउटा मिसरामा पूर्ण रुपले एउटै अर्कानको आवृत्ति भएको छ भने त्यसलाई सालिम भनिन्छ ।
७, मुदाइफ:
दुई गुना गर्नुलाई मुदाइफ भनिन्छ ।
शास्त्रीय बहरको किसिम:
गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:
अ, मुफरद बहर मूल छन्द
आ, मुरक्कब बहर मिश्रित छन्द
इ, मुजाहिफ बहर परिवर्तित छन्द
अ, मुफरद बहर:
एउटै अर्कानको आवृत्तिबाट बनेको बहरलाई मुफरद बहर भन्ने गरिन्छ । यस अन्तर्गत सातओटा बहर पर्दछन् । यसका नाम र केही नमुनाहरु यस प्रकार छन्:
१) बहरे मुतकारिब:
क, मुसम्मन् सालिम पिङ्गल छन्द – भुजङ्गप्रयात
सूत्र: फऊलुन् × ४ ।ऽऽ × ४
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ
नमुना-१, हिमाली छटामा रमाएँ घुमेर
पहाडी चिनारी बनाएँ घुमेर । – गोर्खे साइँलो
नमुना-२, दिवानी बनाई सटायौ तिमीले
फकाई फुलाई बसायौ तिमीले । – गोर्खे साइँलो ’सूत्रमाला’
ख, मुसद्दस् सालिम
सूत्र: फऊलुन् × ३ ।ऽऽ × ३
।ऽऽ ।ऽऽ ।ऽऽ
भएँ आज प्यासी पियारी
सँगै साथ लानै तयारी । – गोर्खे साइँलो
ग, मुरब्बा सालिम पिङ्गल छन्द – शङ्खनारी
सूत्र: फऊलुन् Χ २ ।ऽऽ Χ २
।ऽऽ ।ऽऽ
भयो बैँश प्यारो
जवानी तगारो । – गोर्खे साइँलो
नमुना-२, रसाएर पानी दिएँ
दिए जिन्दगानी । – गोर्खे साइँलो सूत्रमाला
२) बहरे मुतदारिक:
क, मुसम्मन् सालिम पिङ्गल छन्द – स्रग्विणी
सूत्र – फाइलुन् × ४ ऽ।ऽ × ४
ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ
नमुना-१, प्रेमको भेलमा आइछौ सुन्दरी
याम भो मेलको धाइछौ सुन्दरी । – गोर्खे साइँलो
नमुना-२, छोडकर मैँ चली सारी दुनिया के गम
भूल जाओ मुझे मैँ रही न सनम । – हुसैन खाँ
ख, मुसद्दस् सालिम पिङ्गल छन्द – महालक्ष्मी
सूत्र – फाइलुन् × ३ ऽ।ऽ × ३
ऽ।ऽऽ।ऽऽ।ऽ
प्यास नै प्यासमा माधुरी
बैगुनी साथमा माधुरी । – गोर्खे साइँलो
ग, मुरब्बा सालिम पिङ्गल छन्द – विमोहा
सूत्र – फाइलुन् × २ ऽ।ऽ × २
ऽ।ऽऽ।ऽ
शान्त भै बाँचुला
दॆश मै नाचुला । – गोर्खे साइँलो
घ, मुसम्मन् सालिम मुदाइफ
सूत्र – फाइलुन् × ८ ऽ।ऽ × ८
ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ ऽ।ऽ
प्रेमको जालमा फस्न लाग्यौ सुधा पान गर्दै छ लौ ! तर्किजा-तर्किजा
प्यारको हो खुसी भोलि के हुन्छ खै ! याम सर्दै छ लौ ! तर्किजा-तर्किजा । – गोर्खे साइँलो
३) बहरे हजज:
क, मुसम्मन् सालिम पिङ्गल छन्द – विधाता
सूत्र – मफाईलुन् × ४ ।ऽऽऽ × ४
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ
नमुना-१, मिठो बोली र तिम्रो यो मयूरी चाल प्यारो छ
तराई-दून-पाहाडी हिमाली ढाल प्यारो छ । – हुसैन खाँ
नमुना-२, इधर देखा उधर देखा बडी गहरी सी खायी है
मैं इसको रोक लूँ कैसे बडी लम्बी लडाइँ है । – हुसैन खाँ
ख) मुसद्दस् सालिम पिङ्गल छन्द – सिन्धु
सूत्र – मफाईलुन् × ३ ।ऽऽऽ × ३
।ऽऽऽ ।ऽऽऽ ।ऽऽऽ
बिहानीमा अझै माया गरेका छन्
दिलैको यो मझेरीमा सरेका छन् । – हुसैन खाँ
समाई पाखुरी मेरो बिहानीमा
खसाली आँशु भिज्ने भो सिरानीमा । – गोर्खे साइँलो
ग, मुरब्बा सालिम पिङ्गल छन्द – विजात
सूत्र – मफाईलुन् × २ ।ऽऽऽ × २
।ऽऽऽ ।ऽऽऽ
जवानीको नशा माथी
बन्यौ आफैँ मिठो साथी । – गोर्खे साइँलो
४, बहरे रजज :
क, मुसम्मन् सालिम पिङ्गल छन्द – हरिगीतिका/बीभत्स
सूत्र – मुस्तफ्इलुन् × ४ ऽऽ।ऽ × ४
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ
नमुना-१, मुस्कानको नाता लिएँ साहित्यकी रानी सित
कादम्बरी प्याली पिएँ साहित्यकी रानी सित । – गोर्खे साइँलो ‘मुस्कान’
नमुना-२, इस धुन्ध के माहौल मेँ रस्ता दिखाया आपने
रोते हुए इन्सान को हँसना सिखाया आपने । – हुसैन खाँ
ख, मुसद्दस् सालिम
सूत्र – मुस्तफ्इलुन् × ३ ऽऽ।ऽ × ३
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽ।ऽ
मान्छे यहाँ पाएछ कस्तो जिन्दगी
ढुङ्गा र पानीझैँ छ सस्तो जिन्दगी । – हुसैन खाँ
ग, मुरब्बा सालिम पिङ्गल छन्द – मधुमालती
सूत्र – मुस्तफ्इलुन् × २ ऽऽ।ऽ × २
ऽऽ।ऽ ऽऽ।ऽ
प्रेमी नभै साथी भयौँ
यात्रा भरी साथै गयौँ । – गोर्खे साइँलो
५, बहरे रमल :
क, मुसम्मन् सालिम पिङ्गल छन्द – माधवमालती
सूत्र – फाइलातुन् × ४ ऽ।ऽऽ × ४
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
वासनामा चल्न थाल्यो आज मेरो प्रेमप्याला
तिस्रनामा बल्न थाल्यो आज मेरो प्रेमप्याला । – गोर्खे साइँलो
ख, मुसद्दस् सालिम
सूत्र – फाइलातुन् × ३ ऽ।ऽऽ × ३
ऽ।ऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
नमुना-१, एक सुन्दर बाग हो नेपाल मेरो
यो धराको शान हो नेपाल मेरो । – हुसैन खाँ
नमना-२, आशिकी मेँ डूब चला साथ मेरे कौन है
कोई तो बता दो भला साथ मेरे कौन है । – हुसैन खाँ
ग, मुरब्बा सालिम
सूत्र – फाइलातुन् × २ ऽ।ऽऽ × २
ऽ।ऽऽ ऽ।ऽऽ
प्यारमा वहोस देखेँ
होसमा आएर लेखँ । – गोर्खे साइँलो
६, बहरे कामिल :
कमुसम्मन् सालिम पिङ्गल छन्द – प्रमदानन/गीतिका
सूत्र – मुतफाइलुन् × ४ ॥ऽ।ऽ × ४
॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ
निठुरी भएर डुल्यौ तिमी मधुमासकी रसमाधुरी
विरही बनाइ हिँड्यौ तिमी मधुमासकी रसमाधुरी । – हुसैन खाँ
ख, मुसद्दस् सालिम
सूत्र – मुतफाइलुन् × ३ ॥ऽ।ऽ × ३
॥ऽ।ऽ ॥ऽ।ऽ ॥ऽ।ऽ
मधुमासको रसिलो सुधा सरि रातमा
म त अल्झिएँ रसरङ्गको मृदु बातमा । – हुसैन खाँ
ग, मुरब्बा सालिम पिङ्गल छन्द – संयुता
सूत्र – मुतफाइलुन् × २ ॥ऽ।ऽ × २
॥ऽ।ऽ ॥ऽ।ऽ
बस प्रेमको क्षण काखमा
रसिली बनी कन लाखमा ।- गोर्खे साइँलो
७, बहरे वाफिर
क, मुसम्मन् सालिम
सूत्र – मफाइलतुन् × ४ ।ऽ॥ऽ × ४
।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ
सफा जलकी कुनै सरिता बनीकन नै झरिन् दिलमा
तिनी कविता बनी गणतन्त्रको सुख नै छरिन् दिलमा । – हुसैन खाँ
ख, मुसद्दस् सालिम
सूत्र – मफाइलतुन् × ३ ।ऽ॥ऽ × ३
।ऽ॥ऽ ।ऽ॥ऽ ।ऽ॥ऽ
मिठो छ सुवास त्यो सब प्यलिया मनमा
अझै छ मिठो सुगन्ध पि्रया त्यही तनमा । – गोर्खे साइँलो
ग, मुरब्बा सालिम
सूत्र – मफाइलतुन् × २ ।ऽ॥ऽ × २
।ऽ॥ऽ।ऽ॥ऽ
दिवा सपना भुलाउ तिमी
व्यथा मनको जलाउ तिमी । – गोर्खे साइँलो
आ, मुरक्कब बहर :
फरक-फरक अर्कानहरु मिलेर बनेको बहरलाई मुरक्कब बहर भनिन्छ । यस्ता बहरहरु मुख्यतया बाह्रओटा मानिएका छन् । तर यसबाहेक पनि केही मुरक्कब बहरहरु छन् । ती सबैको नाम र नमुना यस प्रकार छ :
१, बहरे मुन्सरेह :
सूत्र – (मुस्तफ्इलुन् + मफ्ऊलात × २ ऽऽ।ऽ + ऽऽऽ। × २)
ऽऽ।ऽ ऽऽऽ। ऽऽ।ऽ ऽऽऽ।
यो दूनियाको माहौल के भन्नु कस्तो-कस्तो छ
छोटो लुगा नाङ्गो अङ्ग फैसेन सस्तो-सस्तो छ । – हुसैन खाँ
२, बहरे मुक्तजिब
सूत्र – (मफ्ऊलात + मुस्तफ्इलुन् × २ ऽऽऽ। + ऽऽ।ऽ × २)
ऽऽऽ।ऽऽ।ऽऽऽऽ।ऽऽ।ऽ
कस्तो भो मरुतुल्य यो मेरो प्रीतको पात रे
माया-प्रेम पाए पनी घातीले गर्यो घात रे । – हुसैन खाँ
३, बहरे मुजारे
सूत्र – (मफाईलुन् + फाइलातुन् × २ ।ऽऽऽ + ऽ।ऽऽ × २)
।ऽऽऽ ऽ।ऽऽ ।ऽऽऽ ऽ।ऽऽ
महाकालीदेखि मेची डुलेका छन् आजभोिल
उनी मेरो प्रेम माया भुलेका छन् आजभोिल । – हुसैन खाँ
४, बहरे खफीफ
सूत्र – फाइलातुन् + मुस्तफ्इलुन् + फाइलातुन्
ऽ।ऽऽ ऽऽ।ऽ ऽ।ऽऽ
सम्झनाको नौलो कहानी भएँ म
दुःखमा हाँस्नेको बिहानी भएँ म । – गोर्खे साइँलो
५, बहरे बसीत
सूत्र – (मुस्तफ्इलुन् + फाइलुन् × २ ऽऽ।ऽ + ऽ।ऽ × २)
ऽऽ।ऽ ऽ।ऽ ऽऽ।ऽ ऽ।ऽ
के रोग हो के भनौँ भित्रै लुकेको यहाँ
आफन्तको पीरले माटो दुखेको यहाँ । – गोर्खे साइँलो
६, बहरे मुजास वा मुज्तस
सूत्र – (मुस्तफ्इलुन् + फाइलातुन् × २ ऽऽ।ऽ + ऽ।ऽऽ × २)
ऽऽ।ऽ ऽ।ऽऽ ऽऽ।ऽ ऽ।ऽऽ
सम्झेर त्यो रुप उन्को डुब्दै थिएँ कल्पनामा
बोली-वचन् प्रेम-माया आए सबै सम्झनामा । – हुसैन खाँ
७, बहरे सरीअ
सूत्र – मुस्तफ्इलुन् + मुस्तफ्इलुन् + मफ्ऊलात
ऽऽ।ऽ ऽऽ।ऽ ऽऽऽ।
सङ्गीतको मीठो खजाना बाँकी छ
मायालुले गाऊँने तराना बाँकी छ । – हुसैन खाँ
८, बहरे मुशाकिल
सूत्र – फाइलातुन् + मफाईलुन् + मफाईलुन्
ऽ।ऽऽ ।ऽऽऽ ।ऽऽऽ
भेलको वेगझैँ बग्दैछ मन् मेरो
प्रीतको सम्झना गर्दैछ मन् मेरो । – हुसैन खाँ
९, बहरे जदीद
सूत्र – फाइलातुन् + फाइलातुन् + मुस्तफ्इलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ऽऽ।ऽ
दुःख-पीडा बिर्सिएरै आएछ त्यो
प्रेयसीको सम्झनामा गाएछ त्यो । – हुसैन खाँ
१०, बहरे करीब
सूत्र – मफाईलुन् + मफाईलुन् + फाइलातुन्
।ऽऽऽ ।ऽऽऽ ऽ।ऽऽ
झरेको पातझैँ भो मेरो जिन्दगी
अँधेरो रातझैँ भो मेरो जिन्दगी । – हुसैन खाँ
११, बहरे मदीद
सूत्र – (फाइलातुन् + फाइलुन् × २ ऽ।ऽऽ + ऽ।ऽ × २)
ऽ।ऽऽ ऽ।ऽ ऽ।ऽऽ ऽ।ऽ
प्रेमको डोली डुब्यो सम्झनाको छालमा
द्वेष-ईस्यॉ नै बढ्यो आज यो नेपालमा । – हुसैन खाँ
१२, बहरे तवील
सूत्र – (फऊलुन् + मफाईलुन् × २ ।ऽऽ + ।ऽऽऽ × २)
।ऽऽ ।ऽऽऽ ।ऽऽ ।ऽऽऽ
मलाई बिहानीमा जगाएर भागेछौ
अझै प्रीतको प्याली पिलाएर भागेछौ । – हुसैन खाँ
१३, बहरे कलीब
सूत्र – फाइलातुन् + फाइलातुन् + मफाईलुन्
ऽ।ऽऽ ऽ।ऽऽ ।ऽऽऽ
भावनाको भित्र बग्दा भुलेको छु
कल्पनाको भेल तर्दा भुलेको छु । – गोर्खे साइँलो
१४, बहरे सगीर
सूत्र – मुस्तफ्इलुन् + फाइलातुन् + मुस्तफ्इलुन्
ऽऽ।ऽ ऽ।ऽऽ ऽऽ।ऽ
हाँसो – खुसीको कहानी हो जिन्दगी
सर्दै गएको बिहानी हो जिन्दगी । – गोर्खे साइँलो
१५, बहरे सरीम
सूत्र – मफाईलुन् + फाइलातुन् + फाइलातुन्
।ऽऽऽ ऽ।ऽऽ ऽ।ऽऽ
उही पीडाको छहारीमा रमाएँ
सधैँ मैले गीत उन्कै गुन्गुनाएँ । – हुसैन खाँ
१६, बहरे सलीम
सूत्र – मुस्तफ्इलुन् + मफ्ऊलात + मफ्ऊलात
ऽऽ।ऽ ऽऽऽ। ऽऽऽ।
काँढा भयो मेरो जिन्दगानी आज
बिर्सीसकेँ मायाको बिहानी आज । – गोर्











नेपाली गजल :-
                                       फेसबुकबाट साभार 

No comments:

Post a Comment