कथा
ऊ
आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझै, बडो सतर्कताका
साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो
साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना
प्रसारित भइरहेको छ । नाकै हरक्क गर्छ मेरो । तर उसको अनुहारतिर म त्यति
ध्यान दिन्नँ । ठीकसित उसको शरीरलाई नियाल्न पनि मन लाग्दैन । गम्ल्याङ्ग
मेरो शरीरलाई आफ्नो हातले बेरेकी भए उसको उपस्थितिको अझ अर्को एउटा सबभन्दा
बलियो प्रमाण हुन सक्थ्यो तर त्यसो हुन सक्तैन । अनुमान गरेरै निर्धक्क भई
मैले उसको उपस्थितिलाई छाम्नुपर्ने बाध्यता छ । फर्केर पछाडि हेरे पनि
हुँदो हो तर मभित्रको पौरुष अहम्ले, कमसे कम तत्कालीन परिस्थितिहरूको
स्थितिबोध गरेकाले त्यसो गर्न दिँदैन । मैले आंशिक नेत्रहीनताको अभिनय
गर्नैपर्छ ।
ऊ मेरी स्वास्नी हो । ऊ त्यही स्वास्नी हो जसलाई मैले
सात महिना अगाडि साढे दुई लाख रुपियाँ नगद उडाएर झ्याइँझ्याइँ बाजा
बजाउँदै भित्र्याएको थिएँ । परम्परागत शैलीमा परिवारका सबैले उसलाई लक्ष्मी
भनेका थिए । ‘लक्ष्मी’ को यथेष्ट व्यय हुने भएकोले कुलवधुलाई लक्ष्मी
भनिएको हुनुपर्छ । ऊ मेरी त्यही स्वास्नी हो जसलाई आमा ‘बुहारी’ भनेर
बोलाउनुहुन्छ र बहिनी ‘भाउजू’ भन्छे ।
मलार्ई बिहानबिहान ओछ्यानमै
निद्रै नखुलीकन मेरो टेबुलमा चियाको कप ल्याएर राखिदिन्छे र मलाई कतै
नछोईकन, नहल्लाईकन आफ्नो स्वरलाई साबिकभन्दा अलिकति उकासेर ‘चिया’ भनेर
निस्कन्छे । अनि भान्सामा गएर आमालाई सघाउँछे । म गहिरो निद्रामा हुँदा
त्यो चिया टेबलमै हिउँझैँ बनिसक्थ्यो वा एकाध झिगा तैरिरहेको अवस्थामा फेला
पर्थे ।
ऊ मेरी स्वास्नी, मैले मेरा नातेदारहरूलाई जे—जे साइनो
लगाएर बोलाउँथेँ, ऊ पनि ऐजन गर्थी । खाना खान बस्ता दाल, तरकारी वा अचार
थप्ने बेलामा “हजुरलाई यस्तो राखूँ ?” भनेर पनि सोध्थी । यसले स्पष्ट हुन्छ
ऊ हामीबाहेक अरू कसैको उपस्थिति भएको खण्डमा मलार्ई ‘स्योस्’ वा ‘हजुर’
लगाएर राम्रैसित बोलिदिन्थी ।
यो त्यही स्वास्नी हो, जो अहिले
मेरो मोटरबाइकमा मेरा पछाडि बसेकी छे । एक हातले पछाडिको क्यारियरको भाग
समातेकी छे अनि अर्को हातचाहिँ हामी दुई बीचको खाली ठाउँमा राखेकी छे,
ह्यान्डब्याग समातेर ।
आज मात्र होइन, ऊ मेरो मोटरबाइकमा सधैँ
यसैगरी बस्छे । लाग्छ, यदि तेस्रो कसैलाई हामी दुईको बीचमा ल्याएर राखिदिने
हो भने ऊ मज्जैले अटाउँदो हो ।
यतिखेर हामी एउटा विवाहको भोजमा
जाँदै छौँ । उसको वश चल्दो हो त ऊ यस्ता विवाहका भोजमा जहाँ उसलाई मसित
मेरी स्वास्नीको हैसियतले जानुपर्ने हुन्छ, त्यहाँ आफ्नो पछिल्तिरको भाग
पनि नदेखाउँदी हो । जब म त्यस किसिमका भोजभतेरहरूमा मेरा इष्टमित्रहरूका
सामू मेरो मिसेज भनेर उसको परिचय गराइरहेको हुन्छु त्यसबखत ऊ के सोच्ती हो ?
म अझै गहिरिएर सोच्छु, म के सोच्छु यस्तो बखत भनेर ऊ सोच्ती हो ? या केही पनि नसोच्ती हो । या कतै साँच्चै इन्जोइ नै पो गर्दी हो ।
तर यो अति न्यून सम्भावना । कारण ऊ मसँग सम्बन्धित कुरासँग असम्बन्धित रहन
चाहन्छे । ऊ मात्र त्यही परिचय बोक्न चाहन्छे जुन कुनै बेला हुने गरेकी
थिई । ऊ कुनै बेला मेरी स्वास्नी थिइन भन्ने कुरा साँचो नै त हो । ऊ मात्र
‘ऊ’ थिई । म पनि मात्र ‘म’ थिएँ ।
उसलाई ‘ऊ’ मा मात्र सीमित राख्न
नचाहनेहरू र मलार्ई ‘म’ मा मात्र सीमित राख्न नचाहनेहरूले हामीलाई हाम्रो
आ–आफ्नो स्थितिबाट खण्डित गराए । म आफ्नो त्यस किसिमको विखण्डनलाई शनैःशनैः
स्वाभाविकताको आवरणले ढाक्दै जान थालेँ । उसको विषयमा त म अझै केही भन्न
सक्तिनँ । हामीबीच एकान्तमा यत्ति प्रश्नोत्तर पनि भएको छैन । न म सम्पूर्ण
लोग्ने प्रमाणित हुनसकेको छु, न ऊ स्वास्नी भएर मेरा अघिल्तिर उभिन सकेकी
छे ।
हो ऊ त्यही स्वास्नी हो जो मेरै ओछ्यानको एउटा टुक्रो समातेर
सुत्ने गरेकी छे । अर्थात् यसरी भने पनि भो म उसको त्यही लोग्ने हुँ जो
उसैको ओछ्यानको एउटा चोक्टो ओगटेर सुत्ने गरेको छु । सत्ते, रातभर यौटै
ओछ्यान साझेदारी गरेर सुत्ने गरेको भए तापनि मैले कहिल्यै उसलाई स्पर्श
गरिनँ । बेलाबेलामा मेरो इतिहासले मभित्रको पुरुष छताछुल्ल भएर पोखिएको
नबताएको भए म आफूलाई नपुंसक भन्दो हुँ । सुत्ने बेलामा ऊ कोल्टे फेर्दा
उसका चुराहरू छमछम बजेको आवाज आउँछ । हामीबीचको एकान्तमा प्रसारित हुने
आवाज बस त्यति हो । म सोच्छु कहिलेकाहीँ यदि ऊ चुरा नलाउँदी हो म कुन
आवाजले आफ्नो कर्णविलास गर्दो हुँ । अन्यथा सुहागरातपछि कमसे कम यो बन्द
कोठामा हामीबीच एकोहोरो संवाद पनि चलेको छैन ।
सुहागरातकै दिन जब
कोठाले एकान्त पायो, ऊ र म मात्रै । ऊसले यौटै मात्र संवाद फ्याँकेकी थिई,
घुम्टोभित्रैबाट । मधुरो आवाजमा भनी, ऊ कोही अरूलाई नै प्रेम गर्छे । अनि
जवाफमा मलार्ई केही बोल्नु थियो सायद । ऊ पनि मेरो बोल्ने पालोको प्रतीक्षा
गरिरहेकी हुँदी हो । मैले केही रुखो हुनुपर्ने हो सायद । अथवा कमसे कम ऊ
कसलाई प्रेम गर्छे यो जान्न खोज्नुपर्ने हो । अथवा केही रिस, केही
दिक्दारी, केही पश्चात्ताप, केही पीडा, केही भावुकता आदि पोख्नुपर्ने हो ।
तर भित्रबाटै केही हलचल भए वा कुनै प्रतिक्रिया आए यस्ता भाव पोखिँदा हुन्,
अन्यथा त्यो असररहित हुँदो रहेछ कमसे कम मुहारको भावभङ्गीमा कुनै परिवर्तन
ल्याउनलाई । म चुप लाग्छु, मानौँ म उसको यस वक्तव्यले बिल्कुलै असररहित छु
।
ऊ अरूलाई नै प्रेम गर्छे, अर्थात् मलाई गर्दिन । त्यो पनि सुहागरातको दिन भन्छे । कत्रो आँट ?
वास्तवमा म पनि बिहेअघिसम्म अरूलाई नै प्रेम गर्थेँ । एक, दुई, तीन
मज्जैले बसेर गन्ती गर्नुपर्छ, कस–कसलाई हृदयदेखि प्रेम गरेँ अनि कस–कसलाई
सतहमा ? र उसलाई ?
उसलाई प्रेम गरेर बिहे गरेको होइन, तर प्रेम
गर्नलाई बिहे जरुरै गरेको हो । अपसोस छ यसैमा । जस–जसलाई प्रेम गरेँ ती
कसैलाई आफ्नो बनाउन सकिनँ र जसलाई आफ्नो बनाएँ उसलाई प्रेम गर्न सक्तिनँ ।
चाहेरै पनि सक्तिनँ ।
जेजे भएको भए तापनि ऊ मेरी स्वास्नी हो ।
आफ्नो नाउ“का पछाडि आफ्नो माइतीको थर र त्यसभन्दा पछाडि मेरै थर टाँस्ने
गरेकी छे । रहरले हो वा करले, म छुट्ट्याउन सक्तिन“ । यद्यपि मलार्ई यसैमा
आफ्नो जीत भएको आभास छ । के ऊ यसमा पराजित अनुभव गर्छे ? त्यो उही जानोस् ।
उसभित्र केकस्ता भावहरू छन् ? ती उहीभित्र छन् । हामी कहिल्यै दोहोरो
बोलेका छैनौँ । जब सुहागरातकै दिन उसले अरू कसैसित प्रेम गरेको बताई, म
चुपचाप आफ्नो कोट फुकालेर खाटमा पसारिएँ । निधारभरि टा“सिएका अक्षताहरू
उक्काएँ अनि सिरानी सकभर छेउतिर तानेर पल्टिएँ ।
ऊ पनि त्यत्तिकै
पल्टिई सायद । दिनभरिको बिहेको थकाइले शरीरमा ऊर्जा रित्तिएको थियो । अझ म
त्यस रात त्यस्तो लोग्ने साबित भइरहेको थिएँ जो सुहागरातको दिन आफ्नै
स्वास्नीको मुखबाट उसको प्रेमी भएको प्रसङ्ग सुनिरहेको थिए“ । योभन्दा अरू
बिडम्बना केही होला ? अनि यस्तोमा कहा“बाट आओस् शरीरमा ऊर्जा ?
भोलिपल्ट मैले ओछ्यान छाड्नुअगावै उसले टेबलमा चिया ल्याएर राखिदिई ।
चुराहरू छमछम बजिरहेकाले ब्यूँझेँ । अनुहारसम्म आँखा डोर्याउन सकिनँ,
चाहिनँ भन्नु चाहिँ ठीक हुन्छ क्यार !
ऊ भिन्न वस्त्रमा थिई । गाढा रातो सुतीको धोतीमा पहँलो पोतेको झुप्पो केही सुहाउँदिलो देखिन्थ्यो । बिहान उठेर लुगा फेर्न भ्याइछ ।
त्यसपछिका दिनमा पनि ऊ कि त बिहानै म नब्यूँझिई लुगा फेर्थी कि त कोठामा
मेरो उपस्थिति भएको अवस्थामा हातभरि फेर्ने लुगा बोकेर पुलुक्क मतिर
हेर्थी, याचक दृष्टिले । मैले बुझ्नुपथ्र्यो, ऊ लुगा फेर्न चाहन्छे ।
जुरुक्क उठेर बाहिर गइदिन्थेँ ।
मलार्ई पनि केही स्वतन्त्रता थियो
। म विवाहित थिएँ, घर कुनै पनि बेला पुग्न सक्थेँ, या नपुगे पनि हुन्थ्यो ।
कतै ढिलो भए घरमा एक कल फोन हानिदिन्थेँ । फोन प्रायः आमाले नै
उठाउनुहुन्थ्यो । कतै जान परे आमा–बुबा वा बहिनीलाई जानकारी दिन्थेँ ।
उसलाई भनिराख्नुपर्ने आवश्यकता थिएन । ऊ सोध्दिनथी पनि । कतै रात बिताएर
भोलिपल्ट आउंदा पनि कुनै प्रश्नोत्तर हुने सम्भावना थिएन ।
तलब
थापेर ल्याएको दिन केही पैसा आमालाई दिन्थे“ । धेरैपल्ट आमालाई पैसा दिँदै
गर्दाको दृश्य उसले देखेकी थिई । अझ यसो पनि भन्न सकिन्छ उसको उपस्थितिको
मौका छोपेर म आमालाई पैसा दिने गर्थेँ । ऊ देखेर पनि नदेखेझै“ गर्थी । अहँ
मैले उसलाई एक पैसा पनि कहिल्यै दिइन“ । ऊ आफ्नो व्यक्तिगत खर्च केले
टार्छे त्यो उही जानोस् । सके माइतमा माग्दी हो वा ‘अरू’ कसैले चलाइराखेको
हुँदो हो ।
बिहे भएदेखि न मैले उसलाई एक रुपियाँ दिएको छु न कुनै जिन्सी सामान नै किनिदिएको छु । यो कुरामा भने म आफैँप्रति गर्व गर्छु ।
थाहा छ, ऊ मेरी स्वास्नी हो । स्वास्नीको अधिकारले नै ऊ अहिले मेरो
मोटरबाइकका पछाडि बसेर मेरै कुनै परिचितको बिहेभोज खान जाँदै छे ।
निःसन्देह त्यो पार्टीमा ऊ मेरी स्वास्नी कहलाउँछे । त्यत्रो भव्य पार्टीमा
ऊ मेरी स्वास्नीको नाउँबाट परिचित भइसकेपछि कुनै बखत आइमाईको हूलमा आबद्ध
हुन पुग्छे । म पनि हातमा मदिराको गिलास समाउँदै पुरुषहरूको समूहमा आबद्ध
हुन्छु । अनि घरिघरि आफ्ना नशालु-लट्ठिएका आँखाहरूलाई सुटुक्क त्यहाँबाट
उखेलेर कतै पर केही हाँस्दै बाँकी आइमाईहरूका कुरा सुनिरहेकी उसतर्फ
लैजान्छु । अनि आत्मसन्तोषको एउटा गहिरो श्वास तान्छु, यो सोच्तै कि जो ती
आइमाईहरूको कुरा सुनेर मन्दमन्द मुस्कुराइरहेकी छ— त्यो मेरी स्वास्नी हो,
जो आफ्नो नाउँको पुछारमा मेरो थर टाँसेर हिँड्छे ।
पार्टी सकिन्छ । अथवा पार्टी नसकिए पनि हाम्रो निर्धारित समय सकिन्छ । हाम्रो के भन्नु ? मेरो ।
उसको त मसित के छ र ? म ऊतिर बढेर एकपल्ट उसलाई पुलुक्क हेर्छु र मोटरबाइक
भएतिर लम्किन्छु । आँखैबाट सबथोक बुझ्नुपर्छ उसले पनि । मैलेजस्तै ।
बिदावारी भएर ऊ पुनः मेरो मोटरबाइकअगाडि आएर बस्छे, उसैगरी । म मातेको
सुरमा मोटरबाइक लडाउँछु कि जस्तै गर्छु । तैपनि उसलाई कुनै आपत्ति छैन ।
मेरो मोटरबाइकको गतिप्रति वा मेरो मातप्रति ।
अघिल्ला दिनहरूमा
पनि म रक्सीले टिल्ल भएर घर पुग्दा आफैँलाई उग्र गन्हाउँथ्यो । तर मैले
पिएको रक्सी उसलाई कहिल्यै गन्हाएन । उसले कहिल्यै नाक थुनिन । कहिल्यै
छ्या–सम्म भनिन ।
बिहेपछि म झनै लापर्बाह भएँ । मैले घर पुगेर
खुट्टा र मोजा धुनै छाडिदिएँ । म आफैँलाई मेरो खुट्टा र मोजा उत्पात
गन्हाउँथ्यो । तर मेरो गन्दे मोजा र खुट्टा उसलाई कहिल्यै गन्हाएन । ऊ सधैँ
उसैगरी मेरो ओछ्यानको एक टुक्रा ओगटेर सुति नै रही, बिनाकुनै प्रतिवाद ।
तर उसलाई प्रतिवाद गर्ने ठाउँ नै कहाँ छ र ? जहाँ कुनै संवाद छैन त्यहाँ केको प्रतिवाद ?
अचेल आमाबुबा नातिनातिनाको मुख हेर्न मन लाग्यो भनेर हैरान गर्न
थाल्नुभएको छ । सुरुसुरुमा भइहाल्छ नि बिस्तारै भनेर टार्दै आइरहेको थिएँ ।
तर पछिपछि दिनहुँजसो किचकिच सुन्नुपर्ने भयो । अति भएपछि एक दिन यसै
भन्दिएँ– “मैले पाउने होइन क्यारे, बुहारीले हो, उसैलाई भन्नू” त्यसपछि
उहाँहरू चुप लाग्नुभयो । तर केही दिनपछि उसैगरी फेरि कचकच सुरु हुन थाल्यो,
अलिक भिन्न भाषामा । भन्नुभयो– छोराछोरीको मुखसम्म हेर्न मन छैन तँलाई ?
एकछिन फिस्स हाँसेँ म । हाँसो उठ्ने नै कुरा थिएन त यो ? जसले आजसम्म
स्वास्नीको मुख ठीकसँग हेर्न सकेको छैन त्यसले छोराछोरीको मुख के हेरोस् ?
खैर साँचो बोल्नु थिएन, उही रटेकै आवाजमा भनेँ– “बुहारीलाई भन्नुहोस् ।”
अनि फटाफट त्यहाँबाट उम्केँ ।
एक रात अनायासै लाग्यो कतै
स्वास्नीसित बोलेर यो कुरा किन नराखूँ ? अर्थात् सन्तानप्राप्तिको प्रसङ्ग ।
त्यो रात झन्नै बोलेको । के ऊ आफ्नो प्रेमीसित भनेर मेरा आमाबाबुका निम्ति
एउटा गर्भ राखिदिन सक्तिन ? तर मैले उसलाई त्यो सल्लाह दिने हिम्मत गर्न
सकिनँ ।
तीन दिनपछि चेतना आयो, आफ्नो मनभित्र उब्जेको त्यो
प्रश्नको स्तरका बारेमा । अनि फेरि आफैँसित हाँसेँ । त्यो पनि एउटा कुनै
व्यस्त सडकमा मोटरबाइक पार्किङ गरेर जाँदै गरेको अवस्थामा । राति घर
फर्केपछि ओछ्यानमा पल्टेर सिलिङतिर हेर्दै दिनभरका घटना सम्झिँदै थिएँ,
दिउँसो एक्लै हाँसेको प्रसङ्ग सम्झेर फेरि हाँसो उठेछ । त्यस बखत पनि
मज्जैले हाँसे“ म । भित्तातिर स्वास्नी सुतिसकेकी थिई । सायद ऊ निदाएकी
नहुँदी हो । म हाँसेको चाल पाएकी हुँदी हो तर ऊ प्रतिक्रियाविहीन थिई,
जस्तो अरू बेला हुने गर्थी ।
बाँकी रह्यो सन्तानप्राप्तिको कुरा ।
जसलाई मेरा आमाबाबुले यसरी पटकपटक राख्नुभएको थियो, मानाँै उहाँहरूको
सम्पूर्ण जीवनको अभीष्ट होस् त्यो ।
म चाहन्छु, जब कुनै दिन म
आफ्नो कोठाको ढोका खोलेर भित्र छिर्नेछु, तब मेरी स्वास्नी मेरा सामुन्ने
दोस्रो निजी संवाद लिएर उपस्थित हुनेछे र भन्नेछे— “आजसम्म म जसलाई प्रेम
गरिरहेकी थिएँ अब गर्दिनँ । विगतलाई विर्सजन गर्न चाहन्छु । अबउप्रान्त
मेरो सम्पूर्ण प्रेम तपाईँमा समर्पित छ ।” अनि म उसका सामुन्ने ऊसित आँखा
जुधाउँदै भन्न सक्नेछु– “म पनि तिमीलाई हृदयदेखि नै प्रेम गर्नेछु ।”
त्यसपछि मात्र म सायद आफ्नी स्वास्नी प्राप्त गरूँला, सन्तानको चाहना गरूँला ।
(“कथाकी पात्र” बाट साभार)
No comments:
Post a Comment