दीप्स शाह
अग्लिएर चुच्चिएको धूपीको बोटमुनी बसेर एकतमासले गाडीको दोहोरी लत्तो हुइँक्याई नियालिरहेछ मोहन । गाडी त के भन्नु सबै चिल्ला कारैकारको ताँती । सफा फराकिला काला चिल्ला सडकमा धुवाँको नामोनिशाना बिनै मन्द आवाजमा सुलुत्त सुलुत्त चिप्लिरहेका कारहरूको ताँती हेर्दा उसलाई आफ्नै जीवनको अतित र वर्तमान फ्ल्यास्ब्याक भएझैँ लाग्छ । हिसाब गर्छ, परदेशिएको पनि आज ३ बर्ष पूरा भएछ । मोहन एक होनहार विद्यार्थी थियो । एक लायक छोरा थियो र एक जेहेन्दार अनि भद्र आफन्त थियो भलै गरिबीको खास्टो ओढेरै हुर्किएको थियो । तर तक्दिरले कुन्नी काहाँनिर खोट राखिदियो, जिन्दगीले कुन मोडमा पहिरो खसाइदियो । आज ऊ आफैँलाई सोधिरहेछ कि मोहन को हो ? को थियो ? परिस्थितिको
ज्वारभाटाले उचाल्दा पछार्दा ऊ बिदेशिएको थियो तर त्यो भन्दा ठुलो झट्का उसले नेपालमै बेहोरिसकेको थियो । त्यसबेला सोच्यो सायद् यही मेरो लेखोट हो भाबीले निर्धारण गरेको । तर होइन रहेछ । एक होनहार र लायक छोरो हुनुको परिणाम उसका अगाडी जे जे अवस्था आइदियो चुपचाप स्विकार्दै आइदियो तर फेरि किन यत्रो सजायँ ? ऊ एक्लै सोच्दासोच्दै कुनैबेला फत्फताउँछ आवाजै निकालेर । वरिपरि उसैगरी फोहोरी कपाल कन्याउँदै हरियो चौरमा घाम तापिरहेका सुडानी शरणार्थीहरूले सुन्लान भनेर फेरि अनायास फुत्केको आवाज भित्रै दबाएर आँखा चिम्म गर्छ र फेरि पुग्छ अतितको त्यो अक्करे भिरमा जुन भिरका भयावह घटनाले आज उसलाई अचम्मको भुमरीमा उभ्याइदिएको छ फेरि ।
दु:ख आफ्नो ठाउँमा थियो तर सभ्य र शान्त परिवारमा हुर्केको थियो मोहन । मुट्ठी बाँडेर खाने तर कहिल्यै चर्को आवाज पनि ननिकाल्ने संस्कार जो उसका बाउआमाले आफ्ना सन्तानलाई सिकाएका थिए । त्यसैले पनि मोहनका परिवार सामान्य भएर पनि गाउँमा मान्यगन्यमै पर्थ्यो । दु:खले खान लगाउन पुग्ने सामान्य परिवारको मोहन एक दाजु, दुई भाइ र एक बहिनी मध्य जेहेन्दार र लायक छोरो गनिन्थ्यो । बाउ आमाको कुरा उसले काटेको कुनै घटना या सम्झना छैन् । पढ्नमा पनि तेज थियो । जिन्दगीमा धेरै पढेर के के गर्ने, समाजलाई बाटो देखाउने, सामान्य तर अर्थपूर्ण जिन्दगी जिउने कल्पनामा सानै देखि हराउँथ्यो ऊ । तर जीवनमा आदर्श फलाक्नु या अँगाल्नु अनि यथार्थमा त्यसलाई समाहित गरेर हेर्नुमा आकासपातालको फरक थियो यो सत्य उसले पनि निकै पछि महसुस गर्यो । जब १६ पुगेर १७ मात्रै लागेको थियो मोहन, टाढाका आफन्तले एक शुशिल कन्याको कुरा लिएर आउँदा जीवनमा पहिलोपटक उसले बाउआमाको कुरा नकारेको थियो । तर परिवारको अनुनय र आफन्तको दबाबमा उसको प्रथम अस्विकारले घुँडा टेकिहाल्यो । 'छोरो भएर रुनु हुन्न' भन्ने सामाजिक मान्यताको गर्हुँगो भारिमुनी थिचिएर त्यसबेला परको खन्युको बोटमुनी लुकेर घण्टौँ रोएको थियो ऊ । सामाजिक सतही मान्यता र विश्वाशमा भोगाइको सक्कली अनुहार विम्बित हुँदैन रहेछ । बिहेवारीको मामलामा छोरिलाई मात्रै दबाब हुन्छ र अन्याय हुन्छ भन्ने आम मान्यता र सोचाइभित्रको अर्को तितो पाटो मोहन स्वयँले त्यसबेला अनुभव गर्यो । आफू जस्तै अरु कैयन मोहनहरू यसरिनै चेपिएर लुकी लुकी रुँदा हुन् भन्ने सम्झेर आफूलाई सम्हालेको थियो उसले त्यो पल् । सामान्यतरिकाले बिहे गर्ने सल्लाह अनुरुप कुरो छिनियो । र उसको अनिच्छाको बिहे भयो । मोहन भन्दा केही हुनेखानेकी छोरि सुधा उसकी परिवारमा माहिली बुहारी र उसकी पत्नी भएर भित्रिई । सुरुका केही महिना सामान्य उत्सुकता र अनमनस्यक माहोलमा बित्यो । बिस्तारै परिस्थिति बदलिन थाल्यो । अनुहारमा कसैको नियतको खोट झल्किँदो हो त दुनियाँ दुखि हुँदैन थ्यो होला । सबै फूल बास्नादार नभएझैँ सबै नारी ममत्वले भरिपूर्ण पनि हुँदैनन् । थाहा छैन् जिन्दगीमा के पाउने, के भोग्ने र कसरी सम्झौता गर्ने भन्ने कुरा कतिले जान्दा हुन् र जानेका जतिले कुना हद् सम्म जीवन्को फूलबारी हराभरा बनाउँदा हुन् । सुधालाई आफू अलिक हुनेखानेको छोरी हुँ भन्ने अहम त थियो नै । जब उसले बिस्तारै उसको पति मोहन बाबुआमाको एकदमै आज्ञाकारी छोरो भन्ने बुझ्दै गई, सुधा बिस्तारै करेला बन्दै गई । उसोत सुरु देखिनै सुधा नाम् जस्ती सुधा थिइन नै । बिस्तारै उसको नामको बिल्कुल बिपरित बुहारीको, पत्नीको रुपमा उत्रन थालि । एक त अनिच्छाको बिहे जो केवल बाबुआमालाई खुशी पार्न गरेको थियो उसले । त्यहि माथी तिनै बाबुआमालाई छोडेर, अझै आफू भन्दा पहिले बिहे गरेका दाजुभाउजू सगोलमै रहिरहेको अवस्थामा अस्ति बिहे गरेर आजै अंशबट्टा गरि भिन्दै बस्ने कुरो मोहन सोच्न समेत सक्दैन थ्यो । त्यहि माथी दुई भाई र एक बहिनीको पढाइ, बिहेवारी सबै बाँकी नै थियो । यहि कुरोमा सुधा र मोहनको सम्बन्धमा दरार आउन थाल्यो । सुरुमा उसले सुधालाई निकै सम्झायो तर केही लागेन । अन्तमा मोहनले आफू कुनै पनि हालतमा बाबुआमासँग अंश मागेर उहाँहरूलाई छोडेर नजाने निर्णय सुधालाई सुनायो । त्यसपछि सुधाले आफ्नो प्रयास सफल पार्न माइती मावली आफन्त सबै लगाइ । अन्तमा हार खाएर छोराको घरजम बसाउनकै खातिर भए पनि मोहनलाई बाउआमा र दाजुभाउजूले 'ठिकै छ तँ भिन्दै बस् तर घरबार बिगार्नु हुन्न' पनि भने । तर मोहन यो मान्ने पक्षमा छँदै थिएन ।
लग्भग डेढ बर्षको कलहपछि मोहनले साफ साफ सुधालाई भनेको थियो," सुधा! मलाई तिमीसँग कुनै गुनासो छैन । हुन त यो मेरो अनिच्छाको बिहे हो तर पनि म तिम्रो पवित्र प्रेम् र पति बनेर रहन तयार थियेँ । तर केवल तिमिलाई खुशी पार्न म आफ्नो आमाबाबु दाजुभाई सँग अलग्गिएर बस्न सक्दिन । यदि तिम्रो यो नै अन्तिम् हठ हो भने मेरो भन्नु केही रहेन । " क्रोधमा जलिरहेकी सुधाले तत्काल जवाफ फर्काएकी थिई," मोहन्! म त हुनेखानेकी छोरि हुँ । तिमिजस्तो लुते कुकुर झैँ जतिबेलै टाङमुनी पुच्छर लुकएको छाउरो जस्तो बाउआमाको वरिपरि घुम्नुपर्ने र सगोलमा गोठभरिका गाइवस्तु जसरी बस्नुपर्नेसँग म एक्छिन पनि बस्न सक्दिन । अब म मेरो सुर गर्छु । तिमी आफ्नो सुर गर । " त्यसपछि बिहानै आफ्नो भएभरको लुगाफाटो बोकेर माइत लागेकी सुधाले त्यसको भोलिपल्टै एउटा मिनिट्रक पठाएर बिहेका दाइजोपात पनि लगेपछि ऊ कहिल्यै फर्केर आइन । अल्लारे वयको २० बर्ष पुग्दानपुग्दै व्यबहार र परिस्थितिले या भनौँ तकदिरले मोहनलाई ६० बर्षे प्रौढ झैँ सुस्केरामय जिन्दगी सुम्पिसकेको झैँ आभास हुन्थ्यो । मनमनै सोच्थ्यो," उमेरले जवान नहुँदै व्यबहारले बुढ्यायो मलाई । ' समाज र बाउआमाकै लागि भए पनि भनेर निकैपटक मोहन न्याउरो हुँदै ससुराली पुग्यो सुधालाई लिन तर उल्टै हरेक्पटक गाली र बेज्जती सुनेर खाली हात् फर्क्यो । अन्तत: उसले मन बुझायो जो उसको इच्छा थिएन, चाहना थिएन र सपना थिएन त्यो उसको कसरी रहिरहोस् त ? समय बित्दै गयो । सुधासँग बिहे गरेर छुटेको पनि लग्भग ७ बर्ष भएपछि मोहनले पैसाको जोरजाम गर्न बिदेश जाने कुरा गर्यो । त्यसबेला सम्म बिबिध समस्या सँग जुध्दै बि ए पास् गरिसकेको थियो भने ऊ मुनिका दुई भाइको समेत बिहे भइसकेको थियो । कलिलै उमेरमा खाएको नराम्रो चोटमा खाटा बस्दै थियो । कति छिटो जिन्दगी सम्हाल्न खोज्दाखोज्दै कता कता भताभुङ्ग भैदियो । कताबाट चुहियो, फुत्कियो जीवनका स्वर्णिम पलहरू जो नभोग्दै बिलाइदियो । असरल्ल जिन्दगी अगाडी बाँकिनै थियो तर लम्किने कुन दिशामा ? अन्तत: एक मध्य रातमा परिवार र देश् छोडेर त्रिभुवन अन्तर्आस्ट्रिय बिमानस्थलबाट दोहा हुँदै जोर्डन पार गरेर ईजरायल टेक्न पुग्यो ।
ईजरायलको काम सजिलो थिएन । ८५ किलोको अशक्त यहुदी बाजेलाई खुवाउनु, स्याहार्नु, औषधीउपचारमा ध्यान दिनु, दिशापिशाब सोहोर्नु अझै बाजेलाई घरिघरी उठाउँदा बसाउँदा ढाड र घुँडा दुख्न थाल्यो । आक्कलझुक्कल चाड बाडमा आउने बाजेका आफन्त बाहेक चौबिसै घण्टा एक वीरामी कुरेर बस्नु कति गाह्रो हुन्छ । मोहनमा चाहिने भन्दा अधिक धैर्यता र सहनशिलता थियो । खुरुखुरु काम गर्दै तलब घर पठाउँदै गर्यो । यस्तैमा त्यो एकतमासको जिन्दगीमा केही उर्जाअ थप्न भनि एक महिनाको तलबले एक्दिन ल्यापटप किन्यो । त्यसपछि भने मोहनले निकै राहत महसुस गर्यो । इण्टरनेटको सहायतले देशबिदेशका मान्छेहरूसँग घुलमिल गर्ने क्रम बढ्दै गयो । अनिच्छामै नै सहि तर सिउँदो भरेर घर भित्र्याएको सुधाप्रती उसको प्रेम् नरहे पनि कताकता सम्झना बाँकी थियो । उसलाई छोडेर गएदेखी सुधाको बारेमा मोहनले कहिल्यै केही जानकारि पाएन सिवाय एक्पटक उसकी सानीआमाले 'सुधाको कलेजमा ब्वाइफ्रेण्ड छ रे, सायद् बिहे पनि गर्छे होला उसैसङ्ग्' भनेर सुनाएको बाहेक् । फेसबुकमा निकै खोज्यो मोहनले सुधालाई । तर भेटाएन ।
यस्तैमा मोहनको जिन्दगीले एक्दिन अर्को कोल्टे फेर्यो जुन दिन फेसबुकमा उसकी स्कुलकी सहपाठी रमा भेटिई । रमा मोहनको जिन्दगिबारे जानिफकार थिई तर रमालाई मोहन इजरायलमा काम गर्छ भन्ने थाहा थिएन न त मोहनलाई नै रमा ईजरायलमै काम गर्छे भन्ने थाहा थियो । कस्तो अचम्म! भूगोलको एकै टुक्रोमा बर्शौँ सङ्गै काम गरिरहेका दुई साथि अचानक फेसबुकले पो भेटाइदियो! दुबै निकै खुशी भए । कुरा गर्दै जाँदा थाहा भयो रमा अझै अविवाहित नै रहिछे र अझै स्कुलमा पढ्दा रमा भित्रभित्रै मोहनलाई मान् पराउँथी रे ! मोहनले आफ्नो नालिबेली सबै रमालाई सुनायो र तत्काल जिन्दगिबारे अरु केही नसोचेको पनि बतायो । उता रमालाई भने मोहन बारे निकै दिलचस्पी थियो । दिनैपिच्छे जस्तो नेटमा गफिन्थे । भेट भने उतिसारो हुन्न थियो । जिन्दगीले एकपटक नराम्रो पछारेको मोहन भन्न त भन्थ्यो अब जिन्दगी यस्तै बित्ला तर बिस्तारै ऊ पनि रमा तीर ढल्किँदै गएको कुरा एक दिन महसुस गर्यो जुन दिन रमाले अब छिट्टैनै घर गएर मामाले कुरा चलाइरहेको केटो सँग बिहे गर्ने कुरो बताइ । कुरो सुनेर मोहनले तत्काल बिरोध गरेको थियो । र अनायासै उसको मुखबाट फुत्केको थियो," रमा! तिमिले बिहे गरे मेरो हालत के होला ? म कसरी बाँचुँला ?" जवाफमा रमा खुशीले रोएकी थिई त्यो पल् । उसले त मोहनको मन् बुझ्न बहाना मात्र बनाएकी थिई । त्यसपछि दुबैजाना खुशी खुशी रहे । मनै त हो चाहेपछि पूरा गर्न खोज्छ नै । मोहनका निकै अप्ठ्यारा अवस्थाहरुमा रमाले साथ् दीनथालि । यस्तैमा एक्दिन दुइजाना राजिखुसीले केही साथीहरुको जमघटमा बिहे गर्ने निधो गरे । दुबैजानाको परिवारमा कुरो पुगिसकेको र परिवारबात सहमती मिलिसकेको अवस्थामा एक दिन इजरायलमै धुमधाम बिहे गरे ।
समय निकै मिठो चल्दै थियो । मोहनले सोचेकै थिएन बैबाहिक जिन्दगी यति मिठो पनि हुन्छ भनेर । कुनै नारीकै कारण आँशु बग्छ र कुनै नारिकै साथले जिन्दगीमा खुशीको बहार आउँछ भन्ने मोहनले सोचेकै थिएन उसले जो अप्र्त्याशित रुपमा रमाको आगमन पछि महसुस गर्दै थियो ।
======
रमा गर्भवती भएकी हुँदा काम छोडेर अपार्ट्मेण्ट मै बस्थी । मोहन एक्लैको कमाईले यता धान्ने र उता घरमा खर्च पठाउने गर्थ्यो । कम्सेकम रमाले बच्चा जन्माएर दुई तीन महिनाको नहुन्जेल मोहनले यो भार एक्लै थाम्न पर्थ्यो । त्यसपछि भने बच्चालाई बेबी केयर छोडेर रमा पनि काम गर्न सक्थी जो सबै इजरायलीहरूले पनि त्यसै गर्छन् ।
यस्तैमा एक दिन अचानक घरबाट फोन आयो । बाले गर्नु भएको थियो । "बाबु! बर्बाद भो! त्यो अलच्छिनी कुलँघार्नी घर आएर रडाको मच्चाउदै छे । तेरो छोराले अर्की बिहे गर्यो रे! पख म माओवादी लाएर तेरा सन्तान सखाप पार्दिन्छु भनेर उत्पात गरिरहेकी छे । बिहे गरेर खानलाउन नदिएर हेलागरेकोले हाल सम्म माइत बसिरहेको र अहिले एक्कासी बिदेशमै अर्की बिहे गरेर बसेको खबरले म मर्माहत भएर अधिकार खोज्न आएकि' भन्दै उजुरी गरेकी रहिछे । हुलका हुल मान्छे "पार्टीका" भन्दै घरमा आउँछन् । तेरो छोरो र नयाँ बुहारी झिका! नत्र तेरो पनि हुर्केकी छोरी छे, देख्लास्! " भनेर गएकाछन् । भन्दै फोनमा बा रोएको बेला मोहन उभिएको ठाउँमै चिसो भयो ।
रमा सोध्दै थिई के भयो, कस्को फोन भनेर । मोहन बोल्न सकेन । ८ महिनाकी गर्भवती मायालु रमाको अनुहार नियाली मात्र रह्यो । अरु केही सोच्न सकेन । शून्य दिमाग लिएर एक हप्ता बितायो । हप्तादिनपछि फेरि फोन आयो । उसका नौनारी फतक्कै गले । कुनै अनिष्ट समाचार सुन्नु नपरोस भन्ने कामना गर्दै फोन उठायो । यो पाली आमाको कम्पित स्वर थियो फोनमा ।," बाबु! हामि बर्बाद भयौँ । जे जति तँलाई चाहिन्छ । तेरो हकको सबै दिन्छौँ भन्दाभन्दै अलच्छिनीले गुण्डा लगाएर कान्छीलाई लगि । गाउँभरी त्रास छ । कोहि बोल्न सक्दैन । बाले रोक्न खोज्दा दुई तीन भुसतिघ्रेले कुटेर एउटा गोडा नै भाँचिदिए । तेरो दाइ रोएको रोइ गर्छ । भाइहरू लाई केही खबर गरेकै छैन । अब उसलाई क्षतिपूर्ती बराबर ३० लाख चाहिन्छ रे नत्र अझै केके गर्ने हो । कान्छीको अत्तोपत्तो छैन । बाबु मोहन्! अब के गर्ने ?"
आमाको बिलाप सकिँदा मोहन ढुङ्गा भैसकेको थियो । एक तीर हुर्केकी फूलजस्ती बहिनी लाई लागेका छन् कहाँ लागे होलान् ? बिचरी के गर्दै होलि । अर्कातिर ३० लाख् ? सबैले कमाएको पो देख्छन । त्यो कमाई गएको कस्ले देख्नु ? समस्या नभै कोहि बिदेशिँदैन । जब समस्या भएर बिदेशियो भने उही खाडल भर्दाभर्दै कमाई कहाँ जान्छ जान्छ त्यो त पर्नेलाई थाहा हुन्छ । एक पैसा छैन् केको ३० लाख् ? उता रमाको नौ महिना सुरु भयो । उसलाई यस्तो जोखीमको बेला यो खबर सुनाउनु ठीक होला ? कसैलाई कहिल्यै हात् समेत नउठाउने सोझा देवता जस्ता बा गोडा भाँचिएर बस्नुभएको छ, यो सब उसले सुधालाई बिहे गर्नुको परिणाम थियो । कुना दिनमा बिहे गरिएछ । उभिएरै उसले अरु केके सोच्न भ्यायो तर आमालाई जवाफ दिन बिर्स्यो । आमाको क्वाँ क्वाँ सुनेपछि झस्किँदै एकै शब्द पनि नबोली फोन काट्यो र एउटा जरुरी काम छ भन्दै बाहिरियो ।
सरासर चोकदेखी पर्तिरको पार्कमा पुगेर थचक्क बसेर सोचिरहेको मोहनको मथिँगल घुमिरहेको थियो । यतिका बर्ष सुधा कहाँ थिई ? अहिले अचानक किन आई ? के चाहियो उसलाई अहिले ? मोहन् ? ईजरायलको कमाइ ? बेकारको बदला ? के ? यो अप्ठ्यारो अवस्थामा उसले के गर्ने अब ? कथित "पार्टी" का मान्छेहरूले जे सुकै अत्याचार गर्न सक्छन् निरिह बाबुआमा, परिवारलाई । जे सुकै होस् भनेर फूलजस्ती निर्दोष बहिनीलाई यो सब सजायँ भोगाउन ऊ किमार्थ सक्दैन । ८ महिनाकी गर्भवती सुधालाई छोडेर अहिल्यै घर जाने ? या लिएर जाने ? के यो उत्तम उपाय हो ? भन्ने बितिक्कै छुट्टी मिल्छ ? छुट्टी मिले पनि साथमा एक पैसा छैन् कसरी काम चलाउने ? के गर्ने ? सोच्दासोच्दै रिङ्गटा लाग्यो मोहनलाई । कहिल्यै कसैको केही नबिगार्ने भद्र भनिने उसैलाई किन सबै यो आपत् ? के यो सजायँ मिलिरहेको हो उसलाइ ? हो भने कुना गल्तिको ? उफ्फ्फ् ! यो कस्तो सजायँ ? नेपालमा हरबार महिला पीडाको, दबाबको, उनीहरुलाई पारेको अन्यायको कुरा हुन्छ । के अहिले सुधाको सवाल पनि पीडित महिलाकै हो ? यो कुरामा सुधा पीडित हो कि मोहन आफैँ ? या रमा पनि पीडित छे ? या अहिले बेपत्ता पारिएकी बहिनी ? यसको जवाफ उसलाई यतिबेला कस्ले दिने ? के को सजायँ हो यो ? सोच्दासोच्दै उसका आँखाबाट अबिरल आँशु बगिरहेका थिए ठीक उसरिनै जुनबेला सुधा सँगको बिहेको कुरो चल्दा खन्युको बोटमुनी लुकेर उसले आँसु बगाएको थियोलग्भग १० बर्ष पहिले । तर त्यसबेलाको झैँ यसपालीको आँशु लुकेर होइन बेफिक्री बगिरह्यो परदेशको बिरानो माटोमा जिन्दगीको नमेटिने दाग या त नपुरिने घाउ बनेर, केवल बगिरह्यो बगिरह्यो ।
(सत्य घटनामा आधारित यस कथाका पात्रका नाम भने काल्पनिक हुन् ।)
No comments:
Post a Comment