Monday, January 16, 2012

नेपाली फिल्म "लूट"का पाँच लुटेरा


‘म सँग बैंक लुट्ने  मास्टर  प्लान छ’ –  जब आफ्नो लुटेरा समूह बनाउनको लागि हाकु काले ले नयाँ केटाहरु भेट्छ, उ यही संवाद दोहोर्याउँछ ! नेवारी लवजमा हाकुले यस्तै अन्य संवादहरु दोहोर्याउँदा हलमा हासोँ फैलिन्छ !





निश्चल बस्नेत निर्देशित  नेपाली चलचित्र ‘लुट’ (Loot – A Nepali Movie) अहिले देशभरिका विभिन्न सहरहरुमा प्रदर्शन भइरहेको छ! “लुट”को कथा नौलो होइन ! कथा साधारणछ, हाकु काले नामक व्यक्तिले चाँडै धनि बन्ने सपना बुन्छ, र बैंक लुट्नको लागि अन्य सहयोगीहरु खोज्छ र एउटा लुटेरा समूह बनाउँछ ! आफ्नो योजनाअनुसार उसले ती चार पात्रहरुलाई बैंक लुट्न तयार पार्छ र बैंक लुट्न कसरी सफल हुन्छ भन्ने कुरा नै चलचित्र लुटको मुख्य कथासार हो । यही “बैंक लुट्ने” कथामा हलिउड र बलिउडमा दर्जनौँ चलचित्रहरु बनिसकेकाछन् तर पनि “लुट” ले आफ्नो छुट्टै छाप छोड्न सफल भएकोछ ! कथालाई मौलिक बनाइदिएकोछ !



कथा सामान्य भएपनि, चलचित्रको प्रस्तुतीका कारण चलचित्रले दर्शकहरुलाई सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल भएकोछ ! चलचित्रमा हाकु (सौगात मल्ल), पेशाले भट्टि साहु हुन्छ, जो चाँडै पैसा कमाउनको लागि बैंक लुट्ने योजना बनाउँछ ! नेवारी लवजमा नेपाली बोल्ने, हाकु चलचित्रमा मज्जाले जमेकाछन् ! नरे बनेका कर्मा, पेशाले बाउन्सर हुन्छ र छिटो पैसा कमाउनकै लागि हाकुको बैंक लुट्ने योजनामा सामेल हुन्छ ! खत्री बनेका प्रतिक, ठमेलमा ड्रग र हतियार सप्लाइ गर्ने व्यक्ति हुन्छ ! बैंक योजनामा हाकुले, खत्रीलाई पनि सामेल गर्छ ! चलचित्रमा कहिँकहिँ खत्रीको अभिनयमा खोट लगाउने ठाउँ भेटिन्छ । गोपाल र पाण्डेको रोलमा क्रमश दयाहाङ राई र सुशिल छन् ! गोपाल वा “गोफ्ले” को रुपमा दयाहाङ जमेका छन्, उनका प्रत्येक संवाद रमाइला लाग्छन् ! उनको अभिनयमा कुनै खोट लगाउने ठाउँ छैन, सुशिल पनि आफ्नो रोलमा ठिकैछन् तर पनि उनले सुधार गर्नुपर्ने अझै ठाउँ भने छ ! पाण्डेको “गलफ्रेन्ड” को रुपमा “आयसा” अर्थात ऋचा शर्मा रहेकी छिन् ! ऋचाको अभिनय आफ्नो ठाउँमा ठिकै छ ! डान्सबारको एउटा गित “उध्रेको चोली”मा एकछिन सुस्मिता कार्की देखा पर्छिन् !



चलचित्र अभिनय, छायांकन, कथानक, निर्देशन सबै हिसाबले राम्रो छ ! साँच्चै भन्ने हो भने, मैले ती कुराहरुमा खोट लगाउने ठाउँ देखेको छैन ! रमाइला संवादहरुमा “समाजमा अपाच्य शब्द” राखिएको भनेर केहीले गुनासो गरेकाछन् तर मलाई लाग्छ संवादले हाम्रो आफ्नो वास्तविक धरातल देखाइदिएकोछ, यसअर्थमा संवाद कुनै पनि हिसावले वनावटि लाग्दैन ! चलचित्रमा अन्यकेही गितहरु विचविचमा व्याकग्राउन्डमा राखिएको भएपनि, “उध्रेको चोली” बाहेक अरुकुनै गित अहिले आफूलाई याद छैन !
नेपाली चलचित्रहरु विच प्रदर्शनको लागि अस्वस्थ प्रतिस्पर्धा चलिरहेको कारण, यो चलचित्रले यति नै व्यापार गर्ला, यति नै चल्ला त भन्न सकिन्न तर पनि समग्रमा भन्दा चलचित्र धेरै राम्रो बनेको छ !  चलचित्र भवनमा हिजो हामी चलचित्र हेर्न पुग्दा, हल खचाखच भरिएको थियो!
चलचित्र हेरिसकेपछि लाग्यो, यस्तो चलचित्र पनि नेपालीले बनाउन सक्दारै'छन् ! नेपाली चलचित्रमा नयाँपन केही छैन, नेपाली चलचित्र राम्रा हुँदैनन् भन्दै नेपाली चलचित्र हेर्नुभएको छैन भने पनि, “लुट” चाँहि एकपल्ट हेर्नै पर्छ भनेर सुझाउँछु !

आकरपोस्टबाट 


‘लूट’ हेर्न सेलिव्रिटीको लर्को

‘लूट’ले अडिएन्सको मात्र होइन, सेलिव्रिटीको मन पनि लुटिरहेको छ । ‘लूट’ले पैसा लुट्दैन, दर्शकलाई मनोरञ्जन दिन्छ । नेपाली सिनेमा इतिहासमा पहिलोपटक ‘लूट’ हेर्न हलसम्म पुग्ने सेलिव्रिटीको लर्को नै लागेको छ । निर्माता, निर्देशक, कलाकार, प्राविधिकदेखि चलचित्रका नेताहरू समेतले ‘लूट’ हेरेका छन् । अधिकांशले ‘लूट’लाई फस्ट डे, फस्ट सो हेरे । हेरेका जति सिनेकर्मीले ‘लूट’लाई उत्कृष्ट भनेका छन् । ‘लूट’ नेपाली सिनेमा इतिहासमा ‘ल्यान्डमार्क’ हुने उनीहरूको विश्लेषण छ ।



नम्रता श्रेष्ठ, अभिनेत्री
सिनेमा उत्कृष्ट लाग्यो । पर्फमेन्स र डायलग मनपर्‍र्‍यो । ‘लूट’जस्ता दुईतीनवटा सिनेमा बन्यो भनेपनि हाम्रो सिनेमाको स्तर माथि जान्छ । सौगात मल्लको एक्टिङ निकै प्रंशनिय छ ।





निशा अधिकारी, अभिनेत्री
राम्रो लाग्यो । डायलग, आर्टिस्टको पर्फमेन्स, आइटम नम्बर सिनेमाभित्रका सर्वाधिक बलिया पक्ष हुन् । हाम्रो लागि कथा त नयाँ होइन तर, धेरैले इग्नोर गरेको नेपालीपनको टपिकलाई लिएर ‘लूट’ बनेको छ । दुवै वर्गका सिनेमालाई ब्यालेन्समा राखेर निर्माण हुनु सिनेमाको राम्रो पक्ष हो ।


विनय श्रेष्ठ, अभिनेता
‘लूट’जस्ता चारवटा सिनेमा बने भने हाम्रो उद्योग कायापलट हुन्छ । मैले फिल्म हेरेर इन्जोय गरेँ । स्क्रीनप्ले, स्टोरी ट्रीटमेन्ट बबाल छ । सामान्य स्टोरीलाई ट्रीटमेन्ट म्याटर बनाइएको छ । यति राम्रो लाग्यो कि ‘लूट’लाई कमेन्ट गर्ने शब्दहरू मसँग छैनन् । निर्देशक निश्चलसँग भविष्यको प्रोजेक्टमा निर्माता र कलाकारको रुपमा काम गर्ने योजना छ । ‘लूट’ भिजागर्ललाई च्यालेन्ज हुने भयो ।



सुनिल रावल, निर्माता तथा अभिनेता
‘लूट’ले पुराना निर्देशकको गालामा झापड हानेको छ । सिनेमाको बलियो पक्ष यसको पटकथा, सम्पादन र दर्शकलाई अन्तिममा बाँध्नसक्ने क्षमता हो । यसले नेपाली सिनेमाको ट्रयाक बदलेको छ । यसका क्यामेराम्यानलाई आगामी प्रोजेक्टमा अनुबन्धित गर्ने घोषणा मेरोसिनेमाबाटै गर्छु । सौगात र दयाहाङको भूमिका अति प्रंशसनिय छ ।



विनिता बराल, अभिनेत्री
‘लूट’ले मलाई रिचार्ज नै गर्‍यो । यस्तो फिल्म धेरै बन्नुपर्छ । निर्देशन, अभिनय र स्क्रिनप्लेको त कति तारिफ गर्ने र ? कमै हुन्छ । ‘लूट’को मेकिङबाट हाम्रा सिनेकर्मीले धेरै सिक्नुपर्छ ।






दुईदिनमा ३२ लाख ग्रस मार्क

लाइट थ्रीलर सिनेमा ‘लूट’ले ओपनिङका दुई दिनमा ३२ लाख नेरु ग्रस मार्क गरेको छ । ‘लूट’को यो दुईदिने ग्रस ‘अन्दाज’कोभन्दा ९ लाखले बढी र ‘फस्टलभ’को भन्दा ११ लाखले कम हो । दुईदिनमा ‘अन्दाज’ले २३ लाख र ‘फस्टलभ’ले ४३ लाख ग्रस आम्दानी गरेका थिए । ‘अन्दाज’का वितरक समेत रहेका नरेन्द्र महर्जन ‘लूट’ले गरेको आम्दानीलाई पुष्टि गरेका हुन् । ‘लूट’ यतिबेला ५७ डीसीएन सर्भर र ७ क्यू च्यानलका थिएटरमा प्रदर्शन भैरहेको छ ।

शुक्रबार १३ र शनिबार २० लाख ग्रस मार्क भएको हो । ‘लूट’को लगानी पब्लिसिटीसहित ५० लाख हो । निर्माताहरूले केही सातामै लगानी ‘मिट’ गर्ने अपेक्षा राखेका छन् । ‘लूट’को उक्त दुईदिने आम्दानीमा मल्टिप्लेक्स थिएटर दर्शकहरूको योगदान छ । वितरकका अनुसार ३२ लाख ग्रस कलेक्सनमा मल्टिप्लेक्सको ९५ र सिंगल थिएटरको ५ प्रतिशत योगदान छ । महर्जनले मोफसलका सिंगल र साना थिएटरमा ‘लूट’ नचलेको बताए ।

‘काठमाडौं, पोखरा, नेपालगञ्ज, नारायणगढ, बीरगञ्जजस्ता ठूला सहरमा सिनेमाले राम्रो पिकअप लिइरहेको छ’ महर्जनले भने, ‘विशुद्ध नेपाली सिनेमा चल्ने थिएटरमा भने फिल्म राम्रो छैन ।’ मल्टिप्लेक्स थिएटरबाटै लगानी रिकभर गर्ने आशा निर्माताको छ । ‘लूट’ले क्यूएफएक्सका सेन्ट्रल, जयनेपाल र गोपिकृष्ण हलमा दोस्रो सातापनि होल्डओभर कायम गरिसकेको छ । राजधानी उपत्यकाका मल्टिप्लेक्समा विदाका दिनमा कलेज तन्नेरीहरूको उल्लेख्य चाप रह्यो ।

‘लूट’को आम्दानीमा दुईवटा प्रत्यक्ष फाइदा देखिएका छन् । पहिलो –वितरणको १५ प्रतिशत निर्माता आफैले लिनेछन् भने जनवरी २६ सम्म ठूला ब्यानरका कुनैपनि बलिउड सिनेमाहरू रिलिज हुनेछैनन् । ‘लूट’ले समिक्षकबाट पनि गतिलो रिभ्यू पाएको छ । बैंक लुट्ने पाँच लुटेराहरूको कथा समेटिएको ‘लूट’ शुक्रबार स्वदेशमा रिलिज भएको हो । कूल दर्शकमध्ये २० प्रतिशत दर्शकले दोहोर्‍याएर सिनेमा हेर्ने आशा गरिएको छ । रिलिजको दोस्रो दिनसम्म केही प्रतिशतले सिनेमा दोहोर्‍याएर हेरेको पाइयो । ‘लूट’ केही सातामा अष्ट्रेलिया र भारतमा रिलिज हुँदैछ !







समिक्षा –'लूट'ले लुट्छ
मनोज पण्डित, काठमाडौं १ माघ,
सिनेमा : लूट
निर्देशक : निश्चल बस्नेत
निर्माता : माधव वाग्ले/नरेन्द्र महर्जन
कलाकार : सौगात मल्ल/कर्मा/दयाहाङ राई/प्रतीकराज न्यौपाने/ऋचा शर्मा/सुशिलराज पाण्डे
श्रेणी : लाइट थ्रीलर


कथा : हाकु काले नामक पात्रको बैंक लुट्ने योजना । त्यस योजना अनुसार उसले अरु चार पात्रलाई कसरी तयार पार्दछ अनि ऊ त्यो बैंक लुट्न कसरी सफल हुन्छ भन्ने कथाको सिनेमा हो ‘लूट’ । यस्तो कथासार हलिउडको ‘रिजर्भर डग’देखि बलिउडको ‘काँटे’ हुँदै नेपालमा ‘लूट’को रुपमा आएको छ । यसर्थ कथासार नौलो होइन तर यस चलचित्रमा जसरी रुपान्तरण (एडप्टेसन) गरिएको छ, त्यो भने प्रशंसनिय छ ।


पटकथा : हाकुले कस्ता–कस्ता पात्रलाई आफ्नो टीममा संलग्न गराउँछ भन्ने पक्षमा पटकथाको अधिकांश हिस्सा केन्द्रित छ तर योजनालाई कार्यान्वयन गर्ने तथा त्यस सिलसिलामा आइपरेका समस्यातर्फ भने पटकथाले आँखा चिम्लिएको छ । पात्रहरूको परिचय र पात्रहरू कसरी समूहमा आबद्ध भए भन्नेमा रुमल्लिएको चलचित्र बैंक लूटमा भन्दा योजनामै सीमित भएको छ । पटकथाले पात्रहरूको परिचय त सुन्दर ढंगले गरेको छ तर घटनाक्रमको विकास गर्न र चरम द्वन्द्व संघर्षमा लैजान असफल भएको छ । पात्रहरूकै अन्तक्रियामा रुमल्लिरहँदा कथाको मुख्य द्वन्द्व स्पष्ट र दरिलो पार्न पटकथा चुकेको छ । त्यसैले पटकथा आफ्ना दृश्यहरूमा रमाइलोपन सृजना गर्न सफल देखिएपनि दर्शकलाई भावनात्मकरुपमा विशेष प्रभाव पार्न भने सक्षम देखिँदैन । स्टाइलमा केन्द्रित पटकथाले गहिराई र सम्वेदनशिलता भने हासिल गर्न सकेको छैन ।


संवाद : रमाइला संवादहरूले दर्शकलाई हरेक समय पर्दामा कान जोडिरहन मन लाग्ने हुँदा यस सिनेमाको सबैभन्दा सवल पक्ष हो –संवाद । संवादले हरेक दृश्यलाई रोमाञ्चक बनाइदिएको छ र हरेक पात्रहरूले संवादमै आफ्नो सम्पूर्ण अस्तित्व साँचेका छन् । तर, यही संवाद चलचित्रको कमजोरी पनि बनेको छ । धेरै चिनी खाँदा तीतो हुन्छ भनेजस्तै यसका संवादहरूको सम्प्रेषणले घटनाक्रमको विकासलाई ओझेलमा पारिदिएको छ । त्यस्ता धेरै संवादका अंशहरू छन् जो रहँदा रमाइलो सुनिएपनि कथाको द्वन्द्वविकासमा भने सहयोग पुर्‍याउँदैन र संवादहरू पटकथामा रुमल्लिएको छ । यसअर्थमा संवाद सम्पादनमा केही ध्यान पुर्‍याउन सकेको भए अझ राम्रो हुने थियो ।


छायांकन : छायांकन भनेको खिच्नु मात्रै होइन । कथात्मक संरचनाको दृश्यात्मक चरित्र निर्माण गर्नुपनि हो भन्ने आधुनिक मनोविज्ञानलाई यस चलचित्रको छायांकनले पनि अपनाएको छ । त्यसैले छायांकन यस चलचित्रको अर्को सशक्त पक्ष हो । छायांकनले पात्र र घटना मनोविज्ञानलाई आफ्ना दृश्य समायोजनमा दक्षताको साथ उतारेका छन् । निर्देशक र छायांकारबीचको सृजनात्मक सम्बन्धको प्रभाव क्यामेराको चलायमानता, गति तथा कोणहरूमा स्पष्ट झल्किन्छ । चलचित्र ‘लूट’बाट अर्को एक खुड्किलो चढेको अनुभूति गर्न सक्छौं ।


सम्पादन : चलचित्रको सम्पादन खिचिएको दृश्य काट्नु र जोड्नुमात्रै होइन कथात्मक संरचना र मनोविज्ञानको निर्माण आधार पनि हो भन्ने वैज्ञानिक मान्यतालाई पूर्णरुपले अवलम्बन गरेको ‘लूट’को सम्पादन पूर्णतः कथाको गति, लय, स्वरुप तथा निर्धारित मनोविज्ञान हासिल गर्न धेरै हदसम्म सफल भएको छ । सम्पादक दरिलो भएर संवादका अंशहरू छोट्याउन कोसिस गरेको भए अझ उत्तम हुन्थ्यो तर सम्पादकले आफने प्राविधिक दायित्वमा भने कुनै सम्झौता गरेका छैनन् र यस दृष्टिकोणले सम्पादन पनि अर्को एक सशक्त पक्ष बनेको छ । 


ध्वनी : ध्वनीको संरचना यथार्थ र दृश्यसँगको समायोजन एकदमै राम्रोसँग भएको छ जसले गर्दा संवादको सशक्ततालाई धेरै मद्दत पुर्‍याएको छ । स्थान विशेषको ध्वनी सम्पादनमा पनि विशेष ध्यान पुर्‍याइएको छ । तर, एउटा दृश्यमा बच्चा रोइरहेको आवाजलाई दृश्यसँग तालमेल गर्न नसक्दा भने ध्वनी प्राविधिक चुकेका छन् । नेपाली चलचित्रमा ध्वनीको पक्षमा राम्रो काम नभएको गुनासो यथार्थ हो तर पछिल्ला दिनमा ध्वनीको पक्षमा आधुनिक प्रविधि भित्राउनेदेखि ध्वनीलाई सृजनात्मकरुपमा प्रस्तुति गर्ने प्रयत्नको विकास भएको जुन आशालाग्दो छ । 


अभिनय : यस चलचित्रका सबै पात्र कलाकारकै अभिनय कौशलताका कारण सजिव भएर पर्दामा देखिएका छन् । सौगात मल्ल, दयाहाङ राईको अभिनय सौन्दर्यता नेपाली चलचित्र क्षेत्रकै लागि ठूलो उपलब्धी हो । उनीहरूले आफ्नो पात्रलाई स्थान विशेष, परिस्थिती विशेष र मनोविज्ञान विशेष बनाइदिएका छन् जसले गर्दा दर्शकसँग उनीहरू हरेक फ्रेममा अन्तक्रिया गर्न सफल भएका छन् । कर्माले आफ्नो पात्रलाई सहज ढंगले र नितान्त व्यवहारिक शैलीमा प्रस्तुत गरेका छन् भने अन्य पात्रमा कलाकारले स्वभाविकता अनुभुति गराएका छन् । यसकारण यो चलचित्र कलाकारकै सशक्त अभिनय प्रस्तुतिको कारण चर्चामा र प्रशंसा बटुल्न सफल हुनेछ ।

निर्देशन : आधुनिक चलचित्र मनोविज्ञानको सारंश हो -'चलचित्रको पहिलो फ्रेमदेखि अन्तिम फ्रेमसम्म दर्शकलाई पर्दामा देखाइरहेको कथात्मकतासँग इन्गेज (ब्यस्त) गराइराख्नु त्यस चलचित्रको सफलताको कडी हो ।' यस दृष्टिकोणले यो चलचित्र सफल छ र त्यसैको हिसाबमा भन्न सकिन्छ यसका निर्देशकको ध्यानकर्षणलाई आफ्नो प्रस्तुतिमा बाँधिराख्न सफल भएका छन् । एउटा बैंक लुट्ने योजनालाई प्राविधिक र सृजनात्मक दुवैपक्षबाट सशक्त ढंगबाट प्रस्तुत गर्न उनी केही हदसम्म सफल भएका छन् तर पटकथामा रहेको संवेदनशिलताको अभाव र अपूर्णताले विशिष्ट भावात्मक अवस्था सृजना गर्नमा भने सफल छैनन् । चलचित्र हलबाट बाहिर निस्कँदा हाकु पासा, गोफ्ले आदि पात्र तथा ‘उध्रेको चोली...’ गीत मात्र बोकेर निस्कन पर्ने यथार्थले दर्शकलाई मनोवैज्ञानिक तथा भावनात्मकरुपमा विशेष प्रभाव भने पार्न नसकेको अनुभूति हुन्छ । स्टाइल हावी हुँदा उनले कथाको परिधिलाई सीमित बनाएका छन् र उनीमाथि रंगमंचका कलाकारको हावी स्पष्ट झल्कन्छ । मीठा संवादमा उनी लोभिएका छन् र घटनाक्रमभन्दा पनि पृष्ठभूमिमै धेरै समय बिताएका छन् जसको कारण यस चलचित्रले कथात्मक उत्कृष्टता हासिल गर्न सकेको छैन । कथाको उठान जसरी रोमाञ्चक ढंगबाट भएको छ, यसको निष्कर्ष र समापन एकदमै हतारमा भएको पाइन्छ । यसर्थ ‘लूट’लाई अझ सशक्त बनाउने पक्षमा उनी चुकेका छन् तर जेजति गरेका छन् त्यसलाई प्रशंसा गर्नुपर्दछ । संकुचित अवधारणामा सीमित नभएर सृजनात्मक अभिव्यक्तिमा निडर हुनु उनको सबैभन्दा सवल पक्ष हो ।


निर्माता : चलचित्र मनोरञ्जनको माध्यममात्र हो भन्ने पुरानो अवधारणाबाट मुक्त भई चलचित्र कथात्मकताको माध्यम हो भन्ने अवधारणा अँगाल्दै एउटा रमाइलो कथा भन्न युवापुस्तालाई विश्वास गर्नु र त्यही अनुसार बजार व्यवस्थापन गर्नु यसका निर्माताको ठूलो योगदान हो र यस पक्षमा निर्माताद्धयलाई विशेष प्रशंसा गरिनुपर्दछ । कथा/पटकथा/संवाद लेख्नु र त्यसको छायांकन, सम्पादन गर्नु र दुई घण्टा लामो प्रस्तुति तयार पार्नु मात्रै चलचित्र निर्माणको सृजनशिलता होइन । दर्शकीय मनोविज्ञानसँग अन्तक्रिया गर्ने सहज वातावरण निर्माण गराउनु पनि चलचित्र निर्माणको एउटा अभिन्न पाटो हो जुन पक्षमा यस चलचित्रका निर्माताहरू अब्बल देखिएका छन् । नेपाली सिनेमाको श्रीवृद्धिमा सृजनशिल निर्माताहरूको खाँचो छ र यस चलचित्रका निर्माताबाट त्यो आशा लिन सकिन्छ ।

निष्कर्ष : सिनेमा समिक्षा गर्नु भनेको सापेक्षिक क्रिया हो । सिनेमा जस्तो हुन्छ, त्यस्तै समिक्षा लेखिन्छ, बाध्य होइन्छ । यो सिनेमाले व्यापारिकरुपमा कत्तिको पैसा लुट्ला अर्थात कमाउला त्यो त केही दिनमै थाहा भैहाल्छ तर यो सिनेमाले नेपाली व्यावसायिक सिनेमा फाँट (जसलाई मेनस्ट्रिम भन्न चलन छ)मा भने नयाँ तरंग अवश्य ल्याउनेछ तथा युवा जोस र जाँगर थप्न मद्दत पुर्‍याउनेछ जसको लागि यस सिनेमाका निर्देशकलगायत उनको टीमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो सिनेमा नेपाली चलचित्र क्षेत्रमा काम गर्ने हरेक निर्माता, लेखक, निर्देशक, प्राविधिक, कलाकार तथा वितरकलाई एकपटक अवश्य हेर्न सुझाव टक्र्याउँछु । बधाई छ ‘लूट’ टीमलाई । 

भोलीका दिनमा पनि यस्तै दर्शकलाई भरपुर मोनारंजन दिने किसिमको फिल्म, नेपालमा बन्दै जावोस ! बर्षादको झरीमा उम्रिएको च्याउ जस्तै फिल्म नबनाई, फिल्म के हो र फिल्म कस्तो हुनु पर्छ भन्ने कुराको पूर्ण रुपमा सबल भइ, नौलो पन भित्रियोस ! सम्पूर्ण फिल्म जगतमा पुन: एक पटक सफलताको कामना........
अन्य बिभिन्न वेबबाट
 

No comments:

Post a Comment